घोराही, ६ असार । संघीय संसदका सभामुख कृष्णबहादुर महराले बिपन्न वस्तीहरुबाट विकास थाल्न सुझाव दिनुभएको छ । घोराही उपमहानगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिहरुसँग बुधबार घोराहीमा भएको छलफलमा सभामुख महराले विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।
बिपन्न वस्तीहरुका साना साना योजनाहरुलाई प्राथमिकता दिन सभामुख महराले सुझाव दिनुभएको छ । अबको नीति, कार्यक्रम र बजेटमा प्राथमिकीकरण गर्न आवस्यक रहेको भन्दै उहाँले आम नगरवासीलाई विकासको अनुभूति हुने गरी काम गर्नु आग्रह गर्नुभयो ।
नगरले सक्ने योजनाहरुलाई आवस्यकतामा आधारित ढंगले पूर्णता दिनुपर्ने र मझौला खालका योजनालाई प्रदेश र ठूलो योजनालाई केन्द्रीय सरकारले पूर्णता दिने उहाँले उल्लेख गर्नुभयो ।
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सभामुख महराले अब जनताको जीवनस्तर उकास्ने शैलीबाट विकास गरिने समेत आश्वासन दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल निर्माण र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रकृयालाई सहज ढंगले अघि बढाउन आग्रह गर्नुभयो । त्यसैगरी मुख्य सडक र नगर क्षेत्रका गाउँमा पर्ने खोलाहरुमा पुल निर्माण, रिहारदेखि धर्ना सडकको ट्रयाक खोल्ने, चिडियाखाना निर्माणलगायतका ठूला योजनालाई पूर्णता दिन ध्यानआकर्षण गराउनुभयो ।
सभामुख महरा स्थानीय सरकारले नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारीको पूर्वसन्ध्यामा आफ्नो चुनावी क्षेत्रमा आउनुभएको हो । बुधबार नै महराले बंगालाचुली गाउँपालिकामा पुगेर जनप्रतिनिधि र स्थानीयहरुसँग विकासका बारेमा छलफल गर्नुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस