घोराही, ९ असार । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले युवाले आफूमा रहेकाे जोशलाई होसियारीपूर्वक प्रयोग गर्न आवश्यक रहेको बताउनुभएको छ । धेरै युवाहरुले जोशमा होस गुमाउने गरेकाले सफलताभन्दा पनि असफलता बढी प्राप्त हुने र उनीहरुमा निरासा देखिने गरेको बताउँदै नेपालीले जोश र होस दुवैको सन्तुलित प्रयोग युवाहरुले गर्नुपर्ने बताउनुभयो ।
जिल्ला युवा समिति दाङको आयोजनामा घोराहीमा भएको युवा प्रतिभा तथा उद्यमीको खोजी र उनीहरुको कार्यलाई प्रोत्साहन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले युवाहरु सिर्जनशील कामहरुमा दृढ इच्छाशक्ति लिएर लाग्नुपर्ने धारणा राख्नुभयो ।
युवा परिवर्तनका संवाहक भएको बताउँदै नेपालीले अवसरसँगै जिम्मेवारीलाई पनि युवाहरुले बिर्सन नहुने बताउनुभयो । उहाँले श्रमको सम्मान गर्न नसक्दा युवा शक्तिहरु दैनिक विदेश पलायन भइरहेकाले मुलुकमा सक्षम जनशक्तिको अभाव भइरहेको टिप्पणी गर्नुभयो ।
त्यस्तै लागुऔषध दुर्व्यसनी नियन्त्रण अभियन्ता वसन्तबहादुर पुनले युवाशक्ति लागुऔषधको दुर्व्यसनमा फस्दै गइरहेकाले दुर्व्यसन नियन्त्रणका लागि व्यक्ति, समुदाय र राष्ट्र नै केन्द्रित हुनुपर्ने बताउनुभयो । लागुऔषध दुर्व्यसनका कारण नेपाली समाज विस्तारै विकृतिउन्मूख भइरहेकाले बेलैमा त्यसबारे सचेत हुनुपर्ने उहाँको आग्रह थियो ।
त्यस्तै लागुऔषध दुर्व्यसनी नियन्त्रण अभियन्ता वसन्तबहादुर पुनले युवाशक्ति लागुऔषधको दुर्व्यसनमा फस्दै गइरहेकाले दुर्व्यसन नियन्त्रणका लागि व्यक्ति, समुदाय र राष्ट्र नै केन्द्रित हुनुपर्ने बताउनुभयो । लागुऔषध दुर्व्यसनका कारण नेपाली समाज विस्तारै विकृतिउन्मूख भइरहेकाले बेलैमा त्यसबारे सचेत हुनुपर्ने उहाँको आग्रह थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले युवा देशको आधार स्तम्भ भएको बताउँदै हरेक क्षेत्रमा उनीहरुको सहभागिता जरुरी भएको बताउनुभयो । कार्यालय प्रमुख विनोद गाैतमले युवाहरुलाई उचित अवसर र प्रोत्साहन गरी उद्यमशीलतातर्फ अग्रसर बनाए राष्ट्रको समृद्धि सुनिश्चित हुने बताउनुभयो । जिल्ला युवा समितिका अध्यक्ष सुरेश रावतको अध्यक्षतामासम्पन्न कार्यक्रमको सहजीकरण सूचना अधिकारी गोविन्द केसीले गर्नुभएको थियो ।
पाँचजना युवा सम्मानित
जिल्ला युवा समिति दाङले विभिन्न विधामा क्रियाशील पाँचजना युवालाई सम्मान गरेको छ । युवा प्रतिभाको खोजी, उनीहरूको कार्यलाई प्रोत्साहन र सम्मान कार्यक्रमअन्तर्गत युवा उद्यमी सम्मान कार्यक्रमबाट दाङमा क्रियाशील पाँचजना युवाहरुलाई सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा सञ्चार विधामा नवीन अभिलाषी, लागुपदार्थ दुर्व्यसन नियन्त्रणमा वसन्तबहादुर पुन, सैलुन उद्योग/उद्यमशिलतामा डिल्लु चौधरी, समाजसेवा र स्वयंसेवामा साजिदा खातुन सिद्दिकी र इलेक्ट्रोनिक व्यवसाय/उद्यमशीलतामा भूपबहादुर विक सम्मानित हुनुभएको छ ।












