घोराही, ९ असार । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले युवाले आफूमा रहेकाे जोशलाई होसियारीपूर्वक प्रयोग गर्न आवश्यक रहेको बताउनुभएको छ । धेरै युवाहरुले जोशमा होस गुमाउने गरेकाले सफलताभन्दा पनि असफलता बढी प्राप्त हुने र उनीहरुमा निरासा देखिने गरेको बताउँदै नेपालीले जोश र होस दुवैको सन्तुलित प्रयोग युवाहरुले गर्नुपर्ने बताउनुभयो ।
जिल्ला युवा समिति दाङको आयोजनामा घोराहीमा भएको युवा प्रतिभा तथा उद्यमीको खोजी र उनीहरुको कार्यलाई प्रोत्साहन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले युवाहरु सिर्जनशील कामहरुमा दृढ इच्छाशक्ति लिएर लाग्नुपर्ने धारणा राख्नुभयो ।
युवा परिवर्तनका संवाहक भएको बताउँदै नेपालीले अवसरसँगै  जिम्मेवारीलाई पनि युवाहरुले बिर्सन नहुने बताउनुभयो । उहाँले श्रमको सम्मान गर्न नसक्दा युवा शक्तिहरु दैनिक विदेश पलायन भइरहेकाले मुलुकमा सक्षम जनशक्तिको अभाव भइरहेको टिप्पणी गर्नुभयो ।                                 त्यस्तै लागुऔषध दुर्व्यसनी नियन्त्रण अभियन्ता वसन्तबहादुर पुनले युवाशक्ति लागुऔषधको दुर्व्यसनमा फस्दै गइरहेकाले दुर्व्यसन नियन्त्रणका लागि व्यक्ति, समुदाय र राष्ट्र नै केन्द्रित हुनुपर्ने बताउनुभयो । लागुऔषध दुर्व्यसनका कारण नेपाली समाज विस्तारै विकृतिउन्मूख भइरहेकाले बेलैमा त्यसबारे सचेत हुनुपर्ने उहाँको आग्रह थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले युवा देशको आधार स्तम्भ भएको बताउँदै हरेक क्षेत्रमा उनीहरुको सहभागिता जरुरी भएको बताउनुभयो । कार्यालय प्रमुख विनोद गाैतमले युवाहरुलाई उचित अवसर र प्रोत्साहन गरी उद्यमशीलतातर्फ अग्रसर बनाए राष्ट्रको समृद्धि सुनिश्चित हुने बताउनुभयो । जिल्ला युवा समितिका अध्यक्ष सुरेश रावतको अध्यक्षतामासम्पन्न कार्यक्रमको सहजीकरण सूचना अधिकारी गोविन्द केसीले गर्नुभएको थियो ।

पाँचजना युवा सम्मानित
जिल्ला युवा समिति दाङले विभिन्न विधामा क्रियाशील पाँचजना युवालाई सम्मान गरेको छ । युवा प्रतिभाको खोजी, उनीहरूको कार्यलाई प्रोत्साहन र सम्मान कार्यक्रमअन्तर्गत युवा उद्यमी सम्मान कार्यक्रमबाट दाङमा क्रियाशील पाँचजना युवाहरुलाई सम्मान गरिएको हो ।                                    यसरी सम्मानित हुनेहरुमा सञ्चार विधामा नवीन अभिलाषी, लागुपदार्थ दुर्व्यसन नियन्त्रणमा वसन्तबहादुर पुन, सैलुन उद्योग/उद्यमशिलतामा डिल्लु चौधरी, समाजसेवा र स्वयंसेवामा साजिदा खातुन सिद्दिकी र इलेक्ट्रोनिक व्यवसाय/उद्यमशीलतामा भूपबहादुर विक सम्मानित हुनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस