घोराही, १६ असार । अर्जुनखोलामा बगेर गत वर्ष २ जनाले ज्यान गुमाए, यसपालिको वर्षा सुरु भइसकेकाले स्थानीयमा बाढीको जगजगीले छोइसकेको छ । हरेक वर्षायाम चाख्लीघाटबासीका लागि सुखद् रहन नसकेको इतिहास सम्झिदै यतिबेला चाक्लीघाटवासीहरु आफ्नो ठाउँमा सडक पुर्याउन कस्सिएका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. २ चाक्लीघाटसम्मको झण्डै पाँच किलोमिटर बाटो निर्माण गर्न स्थानीय कस्सिएका हुन् । लमही नगरपालिका क्षेत्र बेलदमारदेखि चाक्लीघाटसम्म पुर्याउन नसके पनि सोरठीसम्म त यसपालि सडक पुर्याउने स्थानीयको धोको छ । स्थानीय रत्नबहादुर ओलीले यसपालि जसरी भए पनि सोरठीसम्म गाडी चल्ने सडक बनाउने बताउनुभयो । सडक नहुँदाका पीडा पोख्दै ओलीले भन्नुभयो “अहिलेसम्म झण्डै २५ जनाले अर्जुनखोलामा बगेर ज्यान गुमाएका छन् ।” हरेक वर्षजसो दुईजनालाई खोलाले बगाउने गरेको जानकारी दिँदै ओलीले अब घटना दोहोरिन नदिने बताउनुभयो ।
सडक निर्माणका लागि घोराही उपमहानगरपालिकाले २० लाख र वडा नं. २ ले ८ लाख रुपैयाँ उपलव्ध गराएको छ । जसले ट्रयाक चौडा गर्ने र १४ ठाउँमा ३४ वटा हेमपाइप, २ वटा कल्भर्ट निर्माणको काम भइरहेको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष टोपेन्द्रबहादुर डिसीले जानकारी दिनुभयो । चाक्लीघाटवासीले वर्षायाममा हिँड्ने बाटोमात्रै भए पनि आउँदो हिउँददेखि गाउँमा बस पुुर्याउने योजना बनाएका छन् । तर सोरठी र चाख्लीघाट जोड्ने एककिलोमिटर सडकमा चट्टान फोड्नुपर्ने अवस्था भएको हुँदा रकमको अभावले चाक्लीघाटवासीको सपना अधुरै हुने होकि भन्ने चिन्ता स्थानीयको छ ।
यद्यपि घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष केशव आचार्यले चाक्लीघाटवासीको बस चढ्ने सपना छिटै पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । सडक निर्माणस्थलमै पुग्नुभएका अध्यक्ष आचार्यले चट्टान फोड्न जिल्ला वनले स्काभेटरको प्रयोग गर्न नदिए पनि जनताको विकासका लागि वर्षान्तपछि बसलाई चाक्लीघाट पुर्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले जनताको विकासका कामलाई अवरोध हुनेगरी जिल्ला वनले हस्तक्षेप गरे पनि चाक्लीघाटसम्म सडक पुर्याउन रकमको अभाव हुन नदिने र काम पनि नरोकिने बताउनुभयो ।







