दाङ, ६ भदौ । सडक, खानेपानी र विद्युत विस्तार योजनाको माग लगेर घोराही उपमहानगरपालिका १९ को जनप्रतिनधिको टोली काठमाडौँ पुगेको छ । वडाका विभिन्न योजनाहरुकाे पोको लगेर अध्यक्ष हर्क घर्ती सहितको टोली काठमाडाैँ पुगेको हाे ।

वडास्तरका सडक, खानेपानी र विद्युत विस्तारको योजनाका लागि काठमाडौँ गएको वडा अध्यक्ष हर्क घर्तीले बताउनुभयो । उहाँका अनुसार बुधवार संघीय संसदका सभामुख तथा दाङ क्षेत्र न २ का सा‌ंसद कृष्णबहादुर महरा र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई भेट गरेर योजनाको ‘फाइल’ बुझाउने काम भएको छ । ‘वडाको समग्र विकासको लागि महत्वपूर्ण योजना सभामुख र मन्त्रीलाई बुझाउने काम भएको छ’ वडा अध्यक्ष घर्तीले भन्नुभयो ‘ उहाँहरु सकारात्मक हुनुभएको छ ।’

जनप्रतिनिधिको टोलीले कटुवाखोलामा पुल, हात्तीखर्क, खोलीगाउँ, खानेगाउँ सडक, पाँचपोखरी-सैघा-राम्चे सडक, घनश्याम बलबहादुर स्मृति लोकमार्ग, दुईखोली, धौलाबाङ सडक, बाम्ला खोला, राल्वाङ सैघा सडक विस्तार र निर्माणको योजनालाई प्रथामिकतामा राखेर मन्त्री महासेठको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी पाँचपोखरीमा लिफ्ट खानेपानी योजना र जलेना खानेपानी योजनालाई पनि प्राथामिकतामा राखेर खानेपानी मन्त्री विना मगरलाई ज्ञापनपत्र बुझाउने अध्यक्ष घर्तीले बताउनुभयो । त्यसैगरी वडाभर विद्युत विस्तारको लागि ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । ‘वडाका पूर्वाधारका समस्या र सभामुख र मन्त्रीहरुलाई राख्ने काम भएको छ’ टोलीमा सहभागी वडा सदस्य जंग रोकाले भन्नुभयो ‘ उहाँहरु हामीले राखेका मागहरुप्रति गम्भीर हुनुहुन्छ ।’

उपमहानगरपालिका भए पनि यो वडा पहाडी र आफै विकट समेत छ । सदरमुकाम घोराहीदेखि सडक सञ्जालले छोए पनि अझै पनि यहाँ वर्षभरी यातायाताका साधन चल्न सकेका छैनन् । वडामा विद्युत विस्तार समेत हुन सकेको छैन । बत्तीको अभावमा यहाँका नागरिकले अझै पनि टुक्की बाल्ने गरेका छन् । त्यसैगरी वडाको नयाँ बस्ती र बंगलाचुली गाउँपालिकाको सीमामा पर्ने कटुवाखोलामा पुल नहुँदा सास्ती हुने गरेको छ । पुलको अभावमा वर्षामा खोलामा बाढी आउँदा आवतजावत नै ठप्प हुने गरेको छ । टोलीमा सांसद रेखा शर्मा र विष्णु पौडेल पनि सहभागी हुनुहुन्छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस