घोराही, ९ भदौ । साहित्यकार विमला गौतमद्वारा लिखित कविता संग्रह ‘आशा’को लोकार्पण गरिएको छ ।

राप्ती साहित्य परिषद्को आयोजनामा भएको कार्यक्रममा सहित्यकार विमला गौतमको कविता संग्रह ‘आशा’को वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले शनिवार लोकार्पण गर्नुभएको हो । कवियित्री गौतमको पहिलो कृति समेत रहेको कविता संग्रहमा ५६ वटा कविताहरु रहेका छन् ।

कृतिको समीक्षा साहित्यकार एवं राप्ती साहित्य परिषद् दाङकी सचिव शारदा शर्माले गर्नुभएको थियो । समीक्षक शर्माले लेखिका गौतमका कविता सहज, सरल रहेकाे बताउँदै कवितामा नारीवादी एवं देशभक्ति भावना सशक्त रुपमा प्रकट भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले साहित्यले अन्याय, अत्यचारका बारेमा आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले समाजलाई साहित्यले समाजवादतिर डोर्‍याउनु पर्ने र समाजिक रुमान्तरणका लागि हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै वक्ताहरुले लेखिका गौतमका कविताहरुमा समाजभित्र भएका विकृति र बेथितिहरुमाथि कठोर व्यंग्य प्रहार गरेको बताए । नारीवाद र नारीले जीवनमा भोग्नु परेका समस्याहरुबारे गौतमको कवितामा भेटिने गरेको उनीहरुको  भनाइ थियो ।

परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य साहित्यकार नरेशजंग रानाले व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ साहित्यकार गिरिराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, साहित्यकार डा. कृष्णराज डिसी, मदन सुवेदी, प्रगतिशील लेखक संघका निवर्तमान अध्यक्ष शरद अधिकारीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण केन्द्रीय सचिव खेमराज मल्लले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस