घोराही, ९ भदौ । प्रेस, मिडिया तथा अाईटी क्षेत्रमा क्रियाशील मजदुरहरुको पेशागत सुरक्षाका लागि दक्षता विकासमा जोड दिइएको छ । नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन र युनियन अफ आइसिटी प्रोफेसनल्सको एकतापछिको पहिलो तथा इम्प्रेशन नेपाल दाङको तेस्रो अधिवेशनका अवसरमा बोल्ने सरोकारवालाहरुले पेशागत सुरक्षाका लागि दक्षता अभिवृद्धिमा जोड दिएका हुन् । प्रेस तथा विभिन्न उद्योगहरु मजदुरकै कारणले चल्ने भए पनि मजदुरहरुको उचित मुल्याङ्कन अहिलेसम्म हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको थियो । जतिबेला पनि मजदुरहरु रोजगारबाट निकालिने अवस्था र श्रमअनुसारको सेवा सुविधा पाउन नसकेको भन्दै पेशालाई सुरक्षित बनाउन दक्षता विकास गर्नुपर्नेमा जोड दिइएको थियो ।कार्यक्रमका प्रमुख अतिथि एवं ५ नम्वर प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले प्रेस तथा आइटी क्षेत्रका मजदुरहरुको योगदानलाई राज्यले चिन्न नसकेको भन्दै मजदुरहरुका मागप्रति अब गम्भीर भएर लाग्ने बताउनुभयो । ‘तपाईहरुलाई चिन्न सकिएको रहेनछ, हामीले बाहिर बाहिरमात्रै हेर्यौं’ डाँगीले भन्नुभयो ‘अब तपाईहरुका विषयमा प्रदेशसभा गम्भीर भएर काम गर्छ, तर समस्या र अवसरबारे बेलैमा सुझाव दिनुहोला ।’ उहाँले मजदुर भन्ने बित्तिकै फरक हिसाबले हेर्ने प्रवृत्तिको अन्त्य गरेर श्रमिकलाई सम्मान गर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । समृद्धिका लागि प्राविधिक शिक्षामा जोड दिँदै उहाँले प्रेस मजदुरले प्राविधिक क्षेत्रमा पुर्याएको योगदानको सराहना गर्नुभयो ।
सो अवसरमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवं इम्प्रेशन नेपालका केन्द्रीय अध्यक्ष महेन्द्रलाल श्रेष्ठले बद्लिँदो प्रविधिले मजदुरहरुको रोजगारी खोसिने अवस्था आउन थालेको भन्दै आफ्नो सीपमा दक्ष हुन मजदूरहरुलाई आग्रह गर्नुभयो । संगठनलाई संस्थागत गर्ने मात्रै चिन्ता नभएको भन्दै उहाँले मजदुरहरुको रोजगारीको ग्यारेन्टी कसरी गर्ने भन्ने नै अहिलेको मुख्य चुनौति रहेको बताउनुभयो । ‘हिजो धेरै मजदुरले गर्ने काम अहिले प्रविधिको प्रयोग गरेर एक्लै गर्नसक्ने अवस्था आएको छ’ केन्द्रीय अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘ संगठनको चिन्ता अब मजदुरको रोजगारी कसरी जोगाउने भन्ने हो ।’ तर आफूलाई दक्ष र प्रविधिमैत्री बनाउन सकियो भने रोजगारीको चिन्ता नभएको उहाँको भनाइ थियो । त्यसका लागि संगठनले हरेक मजदुरलाई दक्षता अभिवृद्धिका कार्यक्रम गर्ने बताउनुभयो ।
कार्यक्रममा इम्प्रेशन नेपालका पाँच नम्वर प्रदेश इन्चार्ज किरण गौतम, पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शीतल, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष जे.एन.सागर, नाटुका अध्यक्ष दिलबहादुर क्षेत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम इम्प्रेशन नेपाल दाङका अध्यक्ष अनन्त आरसीको अध्यक्षतामा भएको थियो । सो अवसरमा संगठनमा योगदान पुर्याएको भन्दै शोभा बस्नेतलाई सम्मान गरिएको थियो ।
अध्यक्षमा डाँगी
यसैबीच तेस्रो जिल्ला अधिवेशनले विशाल डाँगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शैलेस अधिकारी, सचिवमा एकराज भण्डारी, सहसचिवमा मनिषा शर्मा र कोषाध्यक्षमा शोभा बस्नेत चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा मिसन सुनार, कविराम पुनमगर, खुशी शर्मा र सुदीप चौधरी हुनुहुन्छ । आज बसेको कार्यसमितिको पहिलो बैठकले सल्लाहकारहरु चयन गरेको छ । सल्लाहकारहरुमा अनन्त आरसी, मोहनलाल चौधरी, हरिभक्त डाँगी, राजकुमार चौधरी र माधव कँडेल रहनुभएको छ ।

