सैघा, १६ भदौ । घोराही उपमहानगरपालिका १९ सैघाका महिलाले गीतमार्फत आफ्ना पीडा पोखेका छन् । महिलाले गीतमा पीडामात्र नभएर महिला सशक्तीकरण र सहभागिताको आवाजसमेत त्यतिकै उठाएका थिए ।
कार्यक्रममा वडाभरका टोलबाट महिलाहरुको सहभागिता थियो । ‘महिलाहरु हिंसा सहन बाध्य छन्’ स्थानीय प्रेमी पुनले भन्नुभयो ‘महिला हिंसा रोक्न सबै क्षेत्रको सहयोग आवश्यक छ ।’ उहाँले हरेक क्षेत्रमा महिला सहभागिता गराउन नसक्दा महिलाहरु पछाडि परेको दावि गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष हर्क घर्तीले पछिल्लो समयमा देशमा बलात्कारका घटनाहरु दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै त्यसलाई रोक्नु सवैका दायित्व भएको बताउनुभयो । जनउत्थान मुल समितिका अध्यक्ष शशिराम गिरीले हरेक क्षेत्रमा महिलाहरु पछाडि परेको भन्दै अब महिलालाई सशक्तीकरण गरेर जानु पर्ने बताउनुभयो ।
कार्यक्रममा भगवती माध्यामिक विद्यालयका प्रध्यानाध्यापक देवीबहादुर घर्ती, सैघा स्वास्थ्य चौकीका प्रतिनिधि दीपक सुनार, दलित सञ्जालका अध्यक्ष सुदीप सुनारले मन्तव्य राख्नुभएको थियो । जनउत्थान मुल समिति कोषाध्यष प्रेमी पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अमृता कुवँरले गर्नुभएको थियो ।












