महेश बस्नेत
घोराही, २३ भदौ । नयाँ उपकरणहरुको खोज तथा आविष्कार गर्न शिक्षक एवं विद्यार्थीहरुमा ज्ञान र ऊर्जा प्रदान गर्ने उद्देश्यका साथ घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा दुईदिने विज्ञान कार्यशाला शनिबार सम्पन्न भएको छ ।
कार्यशालामा सहभागी शिक्षक तथा विद्यार्थीहरुले नयाँ उपकरणहरु निर्माण कार्यप्रति आफूहरुलाई ऊर्जा मिलेको बताएका छन् । उनीहरुले सिर्जनात्मक सोच र खोजका साथै कार्यप्रति योजनाका साथ कटिबद्ध भएर लागेमा सफलता प्राप्त गर्न सकिने बताएका छन् ।
कार्यशालाबाट सिकेका कुरालाई आफूले अध्यापन कार्यसँग जोडेर हरेक कक्षाका विद्यार्थीहरुलाई प्रयोगात्मक विधिबाटै शिक्षण गराउने विद्यालयका विज्ञान शिक्षक कमलकृष्ण रिजाल बताउनुहुन्छ । कार्यशालामा सहभागी कक्षा दशका छात्र विनय ओलीले विज्ञान कार्यशालाबाट आफूले धेरै कुरा सिकेको र खाली समयमा नयाँ उपकरण निर्माण कार्यमा लाग्ने बताउनुहुन्छ । केही नयाँ काम गर्ने सोच राख्ने कक्षा नौं मा अध्ययनरत छात्रा सुस्मिता डाँगीले कार्यशालाबाट थप ऊर्जा मिलेको बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल केशवराज गिरीको अध्यक्षतामा चलेको कार्यशालामा उमावि हापुर बिजौरीका विज्ञान शिक्षक बब्लु शर्माले विज्ञान, वैज्ञानिक र सफलताका विषयमा सैद्धान्तिक प्रशिक्षण दिनुभएको थियो भने दङ्गाली युवा वैज्ञानिक दीपेन्द्र नेपालीले विद्यार्थीहरुलाई आधुनिक उपकरणहरु निर्माणका विषयमा प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो ।
शुक्रबारदेखि चलेको कार्यशालामा विद्यार्थीहरुले रातमा स्वचालित बल्ने बत्ती, हात थाप्दामात्र पानी आउने धारालगायतका उपकरणहरुको निर्माण गरेका छन् । कार्यशालामा विद्यालयका विज्ञान शिक्षक तथा कक्षा आठ, नौं र दशका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस