घोराही, १६ कार्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानवअधिकार निगरानी समूह लक्ष्मीपुरले वार्षिक कार्ययोजना निर्माण गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ को कार्यालयमा बसेको समूहको बैठकले शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका लागि काम गर्न विभिन्न योजना निर्माण गरेको हो ।
निगरानी समूहकी अध्यक्ष खीमा अधिकारीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष भीमबहादुर सार्कीको प्रमुख आतिथ्यतामा बसेको बैठकले बालविवाह न्यूनिकरण, लैंगिक हिंसा, प्रजनन् स्वास्थ्यका विषयमा सचेतीकरण गर्दै वडा नं. ४ मा प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गर्ने, माटो परीक्षण कार्यक्रम गर्ने, बालमैत्री विद्यालय निर्माणका लागि कक्षा व्यवस्थापन गर्ने, खेलकुद सामग्री खरिद, वडा नं. ३ मा स्वास्थ्य क्लिनिक निर्माणका लागि डेलिगेसन जाने, स्यानेटरी प्याड निर्माण तालिम सञ्चालन गर्ने, छात्रामैत्री शौचालय निर्माण गर्न डेलिगेशन जानेलगायतका योजना निर्माण गरिएको समूहकी अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।सो अवसरमा वडा कार्यालयले शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका क्षेत्रमा विनियोजन गरेका बजेट र कार्यक्रमका विषयमा वडा सचिव पुनाराम गिरीले जानकारी दिनुभयो । उहाँले निगरानी समूहकै मागअनुसार केही कार्यक्रम राखिएकोले त्यसको प्रभावकारी कार्यान्वयन र नागरिक सेवालाई छिटो छरितो गर्न आग्रह गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथी एवं वडाध्यक्ष भीमबहादुर सार्कीले स्थानीय सरकारका कामको सूक्ष्म निगरानी गरिदिन समूहलाई आग्रह गर्नुभएको थियो । सबै ठाउँमा जनप्रतिनिधिहरुको ध्यान नपुग्ने भन्दै वडा विकास, नागरिक अधिकारका विषयमा सूक्ष्म निगरानी गरेर जनप्रतिनिधि, वडा कार्यालय, कर्मचारीलगायत सरोकारवालाहरुलाई सचेत गराउन उहाँले समूहका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।
नागरिक अधिकारकै पक्षमा काम गर्न रात दिन खटिएर काम गरेको उल्लेख गर्दै अध्यक्ष सार्कीले सरकारका कामको खवरदारी र नागरिक अधिकारको पहरेदारी गर्नु समूहको काम भएको बताउनुभयो । उहाँले निगरानी समूहको काम रचनात्मक भए आवस्यक सहयोग गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा मानवअधिकार निगरानी समूहका सदस्य तथा पदाधिकारीहरुले विद्यालय सुधार, कृषि उत्पादन तथा प्राविधिक सेवा, निःशुल्क उपचार, औषधि र परामर्श सेवाका लागि वडा कार्यालयले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस