घोराही, १५ मंसिर । घोराहीमा हत्या गरिएका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरका परिवारले भरपर्दो अनुसन्धान हुन नसकेको भन्दै अझै शव बुझ्न मानेनका छैनन् । अस्ती बेलुका हत्या भए लगत्तै एकजनालाई पक्राउ गरे पनि घटनामा अन्यको समेत संलग्नता हुनसक्ने भन्दै पीडित परिवारले शव बुझ्न नमानेका हुन् ।
व्यवसायी घर्तीको हत्या अभियोगमा रोल्पा तालाबाङ घर भई हाल घोराही १३ बाँसबोटमा घर बनाउँदै गरेका अमर खत्री पक्राउ परेका छन् । पीडित परिवार र आफन्तले भने घटनाको प्रकृति हेर्दा एक्लैले मात्रै हत्या नगरेको भन्दै प्रभावकारी अनुसन्धान गर्न माग गरेका छन् ।
अनुसन्धानको दायरा बढाएर पीडितलाई आश्वस्त पार्नुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याउन मृतककी श्रीमती सुमीत्रा घर्तीमगरले माग गर्नुभएको छ । अभियुक्त खत्री बस्दै आएका घरबेटीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने पीडित परिवारको माग छ ।
हत्याको कारण रकम लेनदेनको विषय मात्रै नहुनसक्ने भन्दै उनीहरुले प्रभावकारी अनुसन्धान गर्न प्रहरीको ध्यानआकर्षण गर्दै आएका छन् । उता प्रहरीले भने अहिलेसम्म खत्रीले अपराध स्वीकार गरेको बताएका छ ।
अपराधमा खत्री मात्रै अहिलेसम्म संलग्न देखिएको भन्दै थप अनुसन्धानको पाटोलाई पनि अघि बढाएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकासँग सोधपुछसँगै टेलिफोनको कल डिटेलमा समेत अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कको माथिल्लो पुल नजिकै माडी हार्डवेयर पसल सञ्चालन गर्दै आएका नन्दबहादुर घर्तीको अस्ती बेलुका घोराही १३ दूधेसोतामा हत्या भएको थियो । उहाँको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम गृहमा राखिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस