घोराही, १६ मंसिर । गत शुक्रबार बेलुका चक्कु प्रहारबाट हत्या गरिएका घोराहीका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरको शव यात्रा निकालिएको छ । शवको आइतबार पोष्टमार्टमपछि गाडीमा राखेर घोराही बजार परिक्रमा गरिएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शवयात्रा निकाली मेनरोड, तुलसीपुरचोक, न्युरोड, दामोदरचोक, मिलनचोक, नयाँ बसपार्क, नेपाल मगर संघको कार्यालय, पसल सञ्चालन गर्दै आएको स्थान माथिल्लो सेवार पुल हुँदै सेवार खोलामा अन्तिम दाहासंस्कार गरिएको छ । हत्यारालाई कडा कार्वाहीको माग गर्दै पीडित परिवार, स्थानीय सरकारका प्रतिनिधि, आफन्त, उद्योगी व्यवसायी, नेपाल मगर संघमा आबद्ध व्यक्तिहरु र सर्वसाधारणहरु शव यात्रामा सहभागी भएका थिए ।
रोल्पा माडी गाउँपालिका वडा नम्बर ६ कोर्चाबाङ स्थायी घर भई हाल घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्क स्थित माथिल्लो सेवार पुल नजिकै माडी हार्डवेयर पसल सञ्चालन गर्दै आउनुभएका घर्तीको गत शुक्रबार बेलुका घोराही १३ दूधेसोतामा हत्या भएको थियो । घर निर्माणका सामग्री बिक्री गरेको उधारो रकम लिन गएको बेला उहाँको हत्या भएको हो । हत्या अभियोगमा रोल्पा तालाबाङका २८ बर्षीय अमर खत्री पक्राउ परेका छन् । उनले नै सामान उधारो लगेको र रकम दिने भन्दै लगेर हत्या गरेको स्वीकार गरेका छन् ।
विछिप्त सुमित्राको बाचा
पति गुमाएकी सुमीत्रा घर्तीमगरको आँखा ४ दिनदेखि ओभाएको छैन । आँखाहरु सुन्निएका छन् । डाँको बसिसकेको छ । पतिको शवलाई अंगालोमा हाल्दै अपराधीले किन मार्‍यो हजुरलाई ? बाबा किन हामीलाई बिचल्ली बनाएर जानुभयो ? कस्को साहारामा म नानीबाबुलाई सुरक्षित राखु बाबा ? भन्दै मूर्छा पर्दै प्रश्न गर्दैछिन् । बाबा तपाईंको शीर निहुरिन दिँदैन, स्वर्गमा बास होस्, अब भेट होला कि नहोला भन्दै डाँको छोडेर रुने गर्छिन् सुमीत्रा । तपाईंप्रति सधैँ सम्मान छ, तपाई‌ं मलाई विश्वास गर्नुस् म शीर निहुरिन दिन्न बाबा भन्दै सुमीत्राले पतिको मुहार सुम्सुमाउदै बाचा गरिन् र माला लगाइदिइन् ।शब यात्रामा मलिन अनुहारले गरेको माग
घर्तीको शव यात्रामा सहभागी सबैले हत्यारालाई कडा कार्वाहीको माग गरेका छन् । हत्या गर्ने अमर खत्री मात्रै नभएको भन्दै उनीहरुले अनुसन्धानको दायरालाई फराकिलो पार्न स्थानीय प्रहरी प्रशासनसमक्ष माग पनि गरेका छन् । शव यात्रामा सहभागी सयौँ नागरिकहरुले हत्यारालाई फाँसीको सजाय हुनुपर्ने भन्दै नारा लगाएका थिए । शव यात्रामा नागरिकहरुले दोषीलाई फाँसीको सजाय हुनुपर्ने, अनुसन्धानको दायरा बढाउनु पर्ने, पीडित परिवारलाई उचित न्याय र राहत दिनुपर्ने लगायतका माग गर्दै नारा लगाएका थिए ।
पीडित पक्षको आशंका
व्यवसायी घर्तीको शरिरभरी १६ ठाउँमा चक्कुले छियाछिया पारेको छ । कुनै घाउहरु साना छन् भने कुनै घाउहरु निकै ठुला छन् । पीडित पक्षले हतियार चक्कु मात्रै नभई खुकुरी समेत प्रयोग भएको हुनसक्ने आशंका गरेका छन् । मृतक घर्तीकी दिदी सुनकुमारी बुढाले हत्यामा हतियार पनि धेरै प्रयोग भएको र व्यक्ति पनि धेरै संलग्न भएको हुनसक्ने आशंका व्यक्त गरिन् । तर डाक्टरहरुले भने एउटै हतियार प्रयोग भएको हुनसक्ने भनेका छन् । आफूहरुले शव बुझे पनि आशंका नमेटिएको भन्दै पीडितहरुले अनुसन्धानको दायरा बढाउन माग गरे । ‘पक्राउ परेका अमर खत्रीले मात्रै उक्त घटना घटाउनै सकेन अरु पनि अपराधी छन् । उनीहरुलाई पनि पक्राउ गर्नुपर्छ, दबाबमूलक आन्दोलन हाम्रो जारी रहन्छ’ नेपाल मगर संघका अध्यक्ष सितलाल पुनमगरले भन्नुभयो ।
घरबेटी पक्राउ, अभियुक्तको घर तोडफोड
रोल्पा तालाबाङ स्थायी घर भएका अभियुक्त अमर खत्रीले घोराही १३ बाँसबोटमा घर बनाइरहेका छन् । सोही घर निर्माणका सामग्रीहरु नन्दबहादुरको घरबाट लगेका थिए । केही उधारो लगेकाले सोही पैसा माग्दा अहिलेसम्मको अनुसन्धानले हत्या भोग्नु परेको प्रहरी स्रोतले बताएको छ । पीडित पक्षहरुको दबाब र प्रहरीको पनि आशंका भएपछि अमर खत्री बस्दै आएको घरकी घरबेटी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । यसैबीच पीडित पक्षका आफन्तहरुले हत्या अभियुक्त खत्रीको निर्माणाधीन घर भत्काइदिएका छन् । बन्दै गरेका घरमा गाह्रो तथा झ्याल ढोकाहरु लडाइदिएका छन् ।
के भन्छन पोष्टमार्टम गर्ने डाक्टरहरु ?
हत्या भएको ४ दिनपछि आइतबार घर्तीको शवको पोष्टमार्टम भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह निर्देशक डा. बसन्त लामिछाने, अन्य डाक्टरहरु प्रताप पोख्रेल र प्रितम डिसीले पोष्टमार्टम गरेका छन् । डाक्टरहरुले एकै प्रकारका चोटहरु देखिएकाले एउटै हतियार प्रयोग भएको जस्तो देखिएको बताएका छन् । ‘मुटु, फोक्सो, आन्द्रा पुरै छियाछिया हुने गरी हतियार प्रयोग भएको देखिन्छ जसका कारण तत्कालै मृत्यु भयो’ डा. प्रताप पोख्रेलले भन्नुभयो । धेरै र गहिरो चोटले नै उहाँको मृत्यु भएको पोष्टमार्टमले देखाएको स‌ंलग्न डाक्टरको भनाइ छ । ‘हामीले देखेको र पाएको रिपोर्ट प्रहरीलाई बुझाउँछौ, अन्य अनुसन्धान उतैबाट हुन्छ’ उहाँले भन्नुभयो ।
नन्दबहादुरको परिवारमा दोहोरिएको घटना
नन्दबहादुरले यसअघि आफ्नै भिनाजुको हत्या भएको पीडा भोगेका थिए । तर आज आफै हत्यामा परेर सारालाई रुवाए । २०६२ साल मंसिर ४ गते दिदी सुनकुमारी बुढाका श्रीमान् बलबहादुर बुढालाई यसरी नै गुमाएका थिए । भिनाजु बलबहादुर शिक्षक थिए । ‘भाइ नन्दबहादुरले पसल गरेदेखि ४ सय मिटर टाढा दिदीको घरमा आएका बेला मेरो श्रीमान्‌लाई पनि यसरी नै अपहरण गरेर मारेका थिए । उनीहरुको अहिलेसम्म पहिचान भएको छैन । पश्चिम पुरन्धारा लगरे हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । आज श्रीमान् गुमाएको १३ वर्षपछि भाइ नन्दको पनि त्यसरी नै हत्या भयो’ सुनकुमारीले भन्नुभयो । पीडा जसलाई पर्‍यो उसैलाई मात्रै थाहा हुने भयो तर न्याय पाउने आशामा पर्दा झनै निराशा देखिएको उनको गुनासो छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस