घोराही, २२ मंसिर । दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले आज आफ्नो १४ औँ वार्षिक साधारणसभा तथा अधिवेशन गरेको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षता एवं संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्थाका सचिव सुदर्शन रिजालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शारदा शर्माले आर्थिक प्रतिवेदनका बारेमा जानकारी दिनुभएको छ । सचिव रिजालले रेडियो प्रशारणमा समावेशी ढंगबाट अघि बढेको उल्लेख गर्नुभयो ।
रेडियोले सञ्चार क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको र सबै क्षेत्र वर्गका आवाजलाई प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो । त्यसैगरी कोषाध्यक्ष शारदा शर्माले रेडियो सञ्चालनमा आर्थिक पक्षमा मजबुद बन्दै गएको उल्लेख गर्नुभयो । रेडियो सञ्चालनमा कुनै पनि आर्थिक समस्याहरु नआएको भन्दै शेयर सदस्य र कर्मचारीहरुमा बोनस बाँढ्ने अवस्थामा आएको जानकारी दिनुभयो ।
कार्यक्रममा रेडियो सञ्चालक समितिका उपाध्यक्ष सुशील गौतमले पेश गरेको विधान संशोधनका विषयको प्रस्ताव पारित भएको छ । कार्यक्रममा रेडियो सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद शर्माले आवाजहीनको आवाजका रुपमा रेडियोलाई स्थापित गर्न सफल भएको बताउनुभयो ।
विहान ५ देखि राती १० बजेसम्म प्रत्येक घण्टा ताजा समाचार र विविध मनोरञ्जनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । सबै क्षेत्रको मन जित्न सफल भएको भन्दै आर्थिक अवस्थामा पनि रेडियो बलियो बन्दै गएको जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण सचिव सुदर्शन रिजालले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस