घोराही, ३ पुस । दाङको घोराहीमा सञ्चालित पोषणगृह डाक्टरको आवास बनेपछि कुपोषित बालबालिकाहरु सेवा नपाएर फर्कन थालेका छन् । राप्ती उपक्षेत्रीय अस्पतालसँगै पोषणगृह पनि प्रतिष्ठानमा हस्तान्तरण भएको थियो ।
यसै सन्दर्भमा दाङका विभिन्न क्षेत्रका सरोकारवालाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तत्काल पोषण पुनर्स्थापनागृह सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । पोषणगृह स्थापना गर्ने नेपाल युथ फाउण्डेशन, नागरिक समाज, मानव अधिकारकर्मी र पत्रकारहरुको एक टोलीले आज प्रतिष्ठानमा पुगेर तत्काल पोषणगृहलाई सञ्चालनमा ल्याउन आग्रह गरेका हुन् ।
ट्राफिक चोकमा रहेको गृह पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएदेखि बन्द अवस्थामा रहेको छ । कुपोषित बालबालिकाको उपचार गर्दै आएको गृहमा प्रतिष्ठानले डाक्टरहरुको आबास बनाएको छ भने उपचारलाई रोकेको छ ।युथ फाउण्डेशनका संयोजक मानवहादुर क्षेत्री, फकला थारु, नागरिक समाज दाङका सचिव लक्ष्मी आचार्य, मानवअधिकार सञ्जालका सदस्य विनोद केसी, मुक्त कम्लरी विकास मञ्चका अध्यक्ष सुनिता चौधरीसहित पत्रकारहरुको टोलीले प्रतिष्ठानका सह निर्देशक डा. वसन्त लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै तत्काल पोषण पुनर्स्थापनागृह सञ्चालनमा ल्याउन आग्रह गरेको हो ।
उक्त प्रतिनिधी मण्डलले चिकित्सकहरुलाई आबासको व्यवस्था अन्यत्र गर्न सकिने भन्दै कुपोषित बालबालिकाको उपचारमा लापर्वाही नगर्न आग्रह गरेका छन् । आबासभन्दा बालबालिकाको उपचार ठूलो भएको भन्दै तत्काल पोषण पुनर्स्थापनागृह सञ्चालनमा नल्याए अदालत पुग्ने युथ फाउण्डेशनले चेतावनी दिएको छ ।
नागरिक समाजका सचिव लक्ष्मी आचार्यले चिकित्सकहरुलाई आबासका लागि अन्यत्र कोठाको व्यवस्था गर्न सकिने विकल्प हुँदाहुँदै पनि बालबालिकाको उपचारलाई नै प्रभावित पार्नु लज्जाको विषय भएको बताउनुभयो । यसैबीच पोषणगृहमा उपचारमा खटिने ८ जना कर्मचारीले साउनदेखि तलबसमेत नपाएको गुनासो गरेका छन् ।
प्रतिष्ठानका सहनिर्देशक लामिछानेले आफूहरुले थप व्यवस्थित पोषण पुनर्स्थापनागृह सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । अस्पतालको बालबालिका भर्ना वार्ड नजिकै एउटा कोठामा १० वेडको भर्ना तथा उपचार कक्ष स्थापना गर्न लागेको र केहीदिनमै कामले पूर्णता पाउने बताउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस