चितवन, १२ पुस । युनिसेफ नेपालका बाल संरक्षण अधिकृत कामदेव खनालले बालबालिकाहरुको संरक्षणका लागि पालिकाहरुले विशेष योजनाका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सिविस नेपालको आयोजनामा चितवनको सौराहामा सञ्चालित ‘घटना व्यवस्थापन, बालमैत्री सञ्चार सीप तथा मनोसामाजिक विमर्श’सम्बन्धी ७ दिने तालिमको समापनका अवसरमा बोल्दै खनालले हिंसा एवं जोखिममा परेका बालबालिकाहरुको संरक्षणका लागि हरेक पालिकाहरुले घटना व्यवस्थापक राखी उनीहरुलाई खटाउन जरुरी रहेको धारणा राख्नुभयो ।

उहाँले बालबालिकाका मुद्दाहरु नेपाली समाजमा निकै कमजोर हुने गरेको बताउँदै स्थानीय सरकार सञ्चालन ऐनले प्रष्ट रुपमा बालबालिकाका मुद्दाहरुलाई सम्बोधन गरेको हुँदा न्यायिक समितिमा समेत यस्ता हिंसा, शोषण, उपेक्षा, दुव्र्यवहारका मुद्दाहरुमा उजुरी दिन सकिने प्रावधान रहेको बताउनुभयो । बालबालिकाको संरक्षणका लागि पालिका आफै अग्रसर नहुँदासम्म बालबालिका सुरक्षित हुन नसक्ने उहाँले धारणा राख्नुभयो ।समापन कार्यक्रममा बोल्दै सिविसका प्राविधिक सल्लाहकार डा. अशोक पाण्डेले बालबालिकाहरुको हेरचाहका लागि अभिभावकको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो । बालबालिकाहरुको चौतर्फी विकासका लागि उनीहरुलाई अनुकूल वातावरण सिर्जना गरिदिनु अभिभावकको दायित्व भएको बताउँदै उहाँले बालबालिकाहरुलाई बृद्धिविकासका लागि खुलारुपमा छोड्नुपर्ने बताउनुभयो । कुसलतापूर्वक घटना व्यवस्थापन गर्न समेत उहाँले तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो ।

तालिममा बैतडी, डोटी, बाँके, दाङ, कास्की, चितवन, पर्सा, रौतहट, धनुषा, सप्तरी जिल्लाका गरी १४ नगरपालिकाकाका सामाजिक विकास महाशाखा एवं महिला बालबालिका शाखाका प्रतिनिधि एवं प्राथमिक सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पुस ५ गतेदेखि ११ गतेसम्म चलेको तालिममा स्थानीय तहको बाल संरक्षण संरचना, बालश्रमको अवधारणा एवं बालश्रमसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रावधानहरु, घटना व्यवस्थापनको अवधारणा, चरणहरु तथा अपरिहार्यता, बालमैत्री सञ्चारसीप, संरक्षणको आवश्यकता भएका बालबालिकाहरुको स्थानान्तरण, बालबालिकासम्बन्धी ऐन २०७५, मनोसामाजिक विमर्शलगायतका विषयमा तालिम दिइएको थियो । तालिममा घटना व्यवस्थापनकाका बारेमा बालअधिकारकर्मी उद्धवराज पौड्याल र रमेश पौडेल एवं बालमैत्री सञ्चार सीप तथा मनोसामाजिक विमर्शका बारेमा युनिसेफका बाल संरक्षण अधिकृत प्रकाश आचार्य र सिबिसकी मनिता धरेलले प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रमको सहजीकरण सिविसका बाल संरक्षण अधिकृतहरु श्रीकृष्ण थापा र भरत अधिकारीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस