घोराही, १७ जेठ । घोराही उपमहानगरपालिकाले एकीकृत सम्पत्ति कर वडाबाटै उठाउन सुरु गरेको छ । जनतालाई घर आँगनबाटै सेवा प्रवाह गर्ने उद्देश्यले कर संकलनको काम वडाबाट सुरु गरेको घोराही उपमहानगरपालिकाले जनाएको छ ।
एकीकृत सम्पत्ति कर संकलनको सुरुवात बिहीबार वडा नं. १० नारायणपुरबाट सुरु गरिएको हो । स्थानीय मेनका डाँगीलाई कर चुक्ताको प्रमाणपत्र प्रदान गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले वडाबाटै कर संकलन गर्ने कार्यक्रमको उद्घाटन गर्नुभएको हो । तीन तहका सरकार बनेपछि नागरिकलाई घर आँगनमै सेवा प्रवाह गर्ने सरकारको लक्ष्य छ, उपमहानगर प्रमुख चौधरीले भन्नुभयो– ‘कर संकलनलाई वडास्तरमा ल्याउने काम पनि त्यसैको एउटा नमूना हो ।’ उहाँले कर बुझाउनकै लागि घोराही धाउनुपर्ने वाध्यता अब आउन नदिने बताउनुभयो ।‘उपमहानगरले जनताको नजिकमा सेवा पुर्‍याउँछ, जनताले पनि सहयोग गर्नुपर्छ’ प्रमुख चौधरीले भन्नुभयो ‘कर तिर्दा आफूलाई गर्व गर्नुस्, हामी त्यही करको सदुपयोग गर्दै तपाईंकै गाउँघरमा विकास ल्याएर आउँछौ ।’ जनताकै करले विकास सम्भव रहेको भन्दै प्रमुख चौधरीले खुशी मनले राज्यलाई कर तिरेर गर्व गर्ने वातावरण सबैले सिर्जना गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै वडा नं. ११ का अध्यक्ष कुलबहादुर लामिछानेले वडा नं. १० ले सबैभन्दा पहिले एकीकृत कर संकलन घर नजिकैबाट गर्न लागेकोमा खुशी व्यक्त गर्दै यसले साविक त्रिपुरवासीहरु सबैलाई सहयोग पुगेको बताउनुभयो । एकीकृत कर संकलनका विषयमा जानकारी दिँदै घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले थरीथरीका शीर्षकमा कर दिँदा सबैलाई झन्झट हुने भन्दै एकीकृत कर संकलनले नागरिक स्वयंलाई सहजता ल्याएको बताउनुभयो ।
घोराही उपमहानगरपालिकाले नगरपालिका हुँदैदेखि एकीकृत सम्पत्ति कर संकलन गर्दै आएकोमा उपमहानगरपालिका बनेपछि प्राविधिक कारणले उपमहानगरपालिका कार्यालयबाट मात्रै कर संकलन गरिरहेको थियो । जनतालाई कर बुझाउन सास्ति भएपछि वडा नं. १० ले वडास्तरबाटै कर संकलन गर्ने कामको सुरुवात गरे पनि त्यस वडाबाट उपमहानगरपालिकावासी जो कसैले पनि एकीकृत कर भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । सेवा वडा नं. १० ले सुरु गरे पनि त्यहाँबाट त्यस क्षेत्रका ८, ९, १०, ११ र १२ का नागरिकहरुले सेवा लिन सक्नेछन् ।
‘कर संकलनका लागि आवश्यक पूर्वाधार चाहिन्छ, त्यो पूर्वाधार वडा नं. १० ले पुर्‍याएको छ’ उपमहानगर प्रमुख चौधरीले भन्नुभयो ‘साउनदेखि १९ वटै वडाबाट कर संकलन गर्ने तयारी भइरहेको छ तर इन्टरनेटको समस्या  समाधान नगरी काम सुचारु गर्न गाह्रो छ ।’  घोराही उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष चित्रबहादुर डाँगी निर्मलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस