घोराही, २२ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सीपलाई व्यवसायमा रुपान्तरण गर्न आग्रह गर्नुभएको छ । अपांगता भएका व्यक्तिहरुका लागि २१ दिने सिलाई मेसिन मर्मत तालिमको मंगलबार झिँगौरामा उद्घाटन गर्दै नगर प्रमुख चौधरीले सीपलाई व्यवसायमा रुपान्तरण गर्न आग्रह गर्नुभएको हो ।
नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको आयोजना र घोराही उपमहानगरपालिकाको सहयोगमा आयोजित तालिम उद्घाटन कार्यक्रममा नगर प्रमुख चौधरीले तालिम धेरै लिने तर सीपलाई व्यवसायमा रुपान्तरण नहुने गरेको बताउनुभयो ।
ज्ञान र सीप विना अघि बढ्न नसकिने उल्लेख गर्दै नगर प्रमुख चौधरीले सिकेको सीपलाई व्यवसायमा रुपान्तरण गरे मात्रै लगानीको सार्थकता हुने उल्लेख गर्नुभयो । अहिलेसम्म तालिमलाई व्यवसाय बनाएको भन्दै अब सीपलाई व्यवसायिक बनाउन आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
केन्द्रका उपसभापति शरद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीले सीप विकासमा लगानी भए अनुसारको प्रतिफल नआएको बताउनुभयो । अब स्थानीय सरकारले प्रतिफल आउने गरी मात्रै लगानी गर्ने उहाँको भनाइ छ ।
केन्द्रका कोषाध्यक्ष रुपा वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव भूमा चौधरीले गर्नुभएको थियो । तालिमको प्रशिक्षकमा ऋषिराज नेपाली रहनुभएको छ । तालिम आगामी असार १२ गतेसम्म चल्नेछ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस