दाङ, ९ मसिर । तिहारमा भैलो खेलेर जम्मा गरेको दानले अभिभावकले ‘अंग्रेजी माध्यममा’ कक्षा चलाउने भएका छन् । घोराही उपमहानगरपालिका १९ राल्वाङका अभिभावकले तिहारमा भैलो खेलेर जम्मा गरेको दानले गाउँको प्राथमिक विद्यालय काउलीचौरमा अंग्रेजी माध्यमबाट कक्षा चलाउने भएका हुन् ।

भैलो खेलेर अभिभावकले १ लाख ४७ हजार ५ सय ३५ रुपैयाँ जम्मा गरेका थिए । जम्मा भएको रकम विद्यालयमा अंग्रेजी माध्यममा कक्षा चलाउने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरमान पुनले बताउनुभयाे । ‘अंग्रेजी माध्यममा कक्षा चलाउनको लागि तिहारमा अभिभावक भैलो खेलेका हुन्, भैलोबाट रकम जम्मा भएको छ’ उहाँले भन्नुभयाे ‘नयाँ शैक्षिकसत्रदेखि अंग्रेजी माध्यमममा कक्षा चलाउने छौँ ।’

घोराही उपमहानगरपालिकाको १९ नम्बर वडा विकट क्षेत्र हो । यो वडामा आवश्यक पूर्वाधार विद्युत, खानेपानी, सञ्चार, यातायातको सेवा समेत राम्रो छैन । वडाभित्र दुइवटा मावि र एउटा आधारभूत र ९ वडा प्राथमिक विद्यालय छन् । यो वडामा निजी विद्यालय छैनन् । उपमहानगरपालिकाभित्र सबैभन्दा धेरै विद्यालय भएको वडा समेत हो । तर भौगोलिक विकट र अन्य कारणले विद्यालयमा विद्यार्थी टिकाउन भने त्यतिकै चुनौति छ । स्कुलमा भर्ना भएका विद्यार्थीसमेत बिचैमा स्कुल छोड्ने गरेका छन् । विद्यालयमा विद्यार्थी टिकाउन समेत समस्या छ ।

‘अब हाम्रा बालबालिकाको शैक्षिक सुधारको लागि अंग्रेजी माध्यमबाट कक्षा चलाउने तयारी गरेका छौ’ विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वडा सदस्य टंख रोकाले भन्रुभयाे ‘यसको लागि अभिभावक आफैले भैलो खेलेर रकम जम्मा गर्नु भएको छ ।’ उहाँका अनुसार अब नयाँ शैक्षिक सत्रदेखि विद्यालयमा अंग्रेजी माध्यमवाट कक्षा चल्नेछ ।

अंग्रेजी माध्यबाट कक्षा चलाउनको लागि निजी श्रोतमा शिक्षक राख्ने समेत विद्यालयले जनाएको छ । कक्षा ३ सम्म सञ्चालन भएको विद्यालयमा ६०/७०जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा दुइजना रातह शिक्षक, एक जना सहयोगी कार्यकता छन् । ‘विद्यालयलाई वडाको नमुना विद्यालय बनाउने सोच बनाएका छौँ । त्यसको लागि सुरुवातमा अंग्रेजी माध्यममा कक्षा चलाउने भएका छौँ’ विद्यालयका प्रधानाध्यापक मञ्जु देवकोटाले भन्रुभयाे ‘सबै क्षेत्रको सहयोगमा यो अभियानमा सफल हुने छौँ ।’

वडा अध्यक्ष हर्कबहादुर घर्तीले विद्यालयले थालेको अभियानमा वडाले सहयोग गर्ने प्रतिबद्धता गर्नुभएकाे छ । ‘अभिभावकले नमुना विद्यालय बनाउने अभियान थाल्नुभएको छ । त्यसको लागि वडा कार्यालयले सहयोग गर्ने छ’ विद्यालयले भैलो दाताको लागि गरेको सम्मान कार्यक्रममा शनिवार वडा अध्यक्ष घर्तीले भन्रुभयाे ‘विद्यालयको लागि आवश्यक पूर्वाधारदेखि अन्य सहयोग गर्ने छ ।’यसैबीच विद्यालयले शनिवार औपचारिक कार्यक्रम गरेर भैलो दाता र भैलो टोलीलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनको अध्यक्षता एवम् वडा अध्यक्ष घर्तीको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा भैदो दाता र भैलो टोलीलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । विद्यालयका शिक्षिका कमला देवकोटाको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रममा वडा सदस्य टंख रोका, जंग रोका, वडा सचिव भीमबहादुर केसी र खुमानन्द कवरले विद्यालयमा अंग्रेजी कक्षा सञ्चालनको लागि अभिभावकाले थालेको अभियानमा सहयोग रहने प्रतिबद्धता जनाउनुभएकाे थियाे ।

कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक मञ्जु देवकोटोले गर्नुभएकाे थियाे । त्यस अवसरमा भैलोको समेत समापन गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस