काठमाडौं, १३ फागुन |

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल)को ड्राफ्टमा परेका छन् । सिपिएलले सन् २०१८ को सिजनका लागि खेलाडीको ड्राफ्ट सार्वजनिक गर्दा नेपालको नाम उल्लेख छ । एकदिवसीय विश्वकप छनोटका लागि जिम्बावेतर्फ जानुअघि सन्दीपले आफू सिपिएलको ड्राफ्टमा परेको जानकारी दिएका छन् ।

सिपिएलले शुक्रबार अबेर राति घोषणा गरेको ड्राफ्टमा ३ सय ४८ खेलाडी रहेको जनाएको छ । जसमा २ सय २७ विदेशी तथा १ सय २१ वेस्टइन्डिजमा रहने जनाएको छ । विदेशी खेलाडीको सूचीमा रहेको सन्दीपले १८ देशका खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्छ । नेपालसहित क्यानडा, अमेरिका, ओमान, हङकङ, स्कटल्यान्ड, युएई र केन्याका खेलाडी ड्राफ्टमा छन् । सिपिएलको अक्सन १ मार्चमा लन्डनमा हुनेछ ।

सिपिएल ८ अगस्टदेखि हुने छ । सिपिएलमा ६ टोली रहनेछन् । गत महिना सन्दीप इन्डियन प्रिमियर लिग (इपिएल) मा आबद्ध भएका थिए । इपिएलको अक्सनमा दिल्ली डेयरभिल्सले सन्दीपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो ।

नेपाली टोली जिम्बावेतर्फ
सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने एकविदसीय विश्वकप क्रिकेटमा छनोट हुने लक्ष्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार जिम्बावेतर्फ लागेको छ । जिम्बावेमा ४ मार्चदेखि एकदिवसीय विश्वकप छनोट खेल हुँदैछ । नेपाल समूह ‘बी’मा छ । नेपालले आफ्नो समूहमा आयोजक जिम्बावे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

चुनौतिपूर्ण यात्रा
नेपालको विश्वकप यात्रा त्यति सहज छैन । नेपालले आफ्नो समूहमा शीर्ष तीन स्थान रक्षा गर्नुपर्छ । त्यसपछि सुपर सिक्समा पनि शीर्ष दुई टोलीभित्र समावेश रहँदै नेपालले विश्वकप यात्रा गर्नुपर्छ । यस किसिमको नतिजा आउँदा मात्र नेपालको विश्वकप खेल्ने सपना पूरा हुन्छ । नेपाली टोलीका कप्तान पारस खड्काले यात्रा असहज भए पनि लक्ष्य प्राप्तिका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।

एकदिवसीय मान्यता लक्ष्य
आइसिसीले विश्वकप छनोटमा एसोसिएट राष्ट्रका लागि नियम बनाएको छ । आइसिसीले एसोसिएट राष्ट्रहरूबीच शीर्ष तीन टोलीलाई चार वर्षका लागि अस्थायी एकदिवसीय मान्यता प्रदान गर्नेछ । नेपाल, स्कटल्यान्ड, हङकङ, युएई जस्ता कडा एसोसिएट टोलीबीच शीर्ष तीन स्थान बनाउनुपर्ने हुन्छ । सुपर सिक्समा पुग्दा पनि नेपालले एकदिवसीय मान्यता पाउने पक्का छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस