घोराही, २८ फागुन । घोराही उपमहानगरपालिका–१७ स्थित गुलरिया मैदानमा भैरहेको जेसीज कप क्लबस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार धनगढी क्रिकेट एकेडेमी र योङगन्स् नेपालगञ्ज विजयी भएका छन् ।

दोस्रो दिनको पहिलो प्रतिष्पर्धामा धनगढी क्रिकेट एकेडेमीले घोराही क्रिकेट एकेडेमीमाथि ६ विकेटको सहज जीत हात पारेको छ । टस हारेर व्याटिङ गरेको घोराही क्रिकेट एकेडेमीले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा मात्र ९२ रन जोड्यो ।

घोराही क्रिकेट एकेडेमीका राहुल सिंह यादवले सर्वाधिक ३४ रन जोडे । ४० बल खर्चेका यादवले ५ चौका, १ छक्का प्रहार गरे । त्यस्तै २० वल खर्चेका सन्देश पाण्डेले १५ रन जोडे भने निहाल पन्तले २४ वल खर्चेर १२ रन थपे । धनगढी क्रिकेट एकेडेमीका महेश अधिकारीले २, भुवन कार्की र नारायण जोशीले १/१ विकेट लिए ।

९३ रनको झिनो लक्ष्य पछ्याएको धनगढी क्रिकेट क्लवले ४ विकेटको क्षतिमा ९ दशमलव ४ ओभरमै लक्ष पूरा गर्‍यो । धनगढीलाई जितका लागि रोमन वलले ३०, दिपेन्द्र थापाले २० र भुवन कार्कीले १९ रनको योगदान दिए । घोराही क्रिकेट क्लवका विशाल केसीले २, सुमन दशौदी र सन्देश पाण्डेले १/१ विकेट लिए । उक्त म्याचमा १९ रन एक विकेट लिने धनगढीका भुवन कार्की म्यान अफ द म्याच भए ।

त्यस्तै दोस्रो खेलमा इन्द्रेणी क्रिकेट क्लव भालुवाङमाथि योङगन्स् नेपालगञ्जले १०७ रनको विजयी हात पार्‍यो । टस हारी पहिले व्याटिङमा उत्रिएको योङगन्स्ले पुरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १७७ रन बनाएको थियो । योङगन्स्का सुनील भण्डारीले सर्वाधिक ६७ रन जोडे । रितेश शाहले ४८ र आकाश विष्टले ३१ रन बनाए । इन्द्रेणीका जीभन केसीले ३ र केशव झाक्रीले १ विकेट दिए ।

१७८ रनको विजय लक्ष पछ्याएको इन्द्रेणीले १७ दशमलव ३ ओभरमा अलआउट हुदै मात्र ७० रनमा समेटियो । इन्द्रेणीका सुरज धितालले १६, भुवन गैरेले र सुमन ज्ञवालीले समान ११ रन जोडे । योङगन्स्का अनिमेश शाहले ४, गौतम कनोडिया र अफ्जल खानले समान २ विकेट लिए । ६७ रन जोड्ने योङगन्स्का सुनील भण्डारी म्यान अफ द म्याच भए ।

प्रतियोगिता चैत्र ४ गते सम्म चल्ने छ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख २५ हजार र उपबिजेतालाई ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले बताए । त्यसैगरी म्यान अफ द सिरिज, बेष्ट बलर र बेष्ट व्याट्सम्यानलाई १०/१० हजार रुपयाँसहित शिल्ड र प्रमाण पत्र प्रदान गरिने त्रिभुवननगर जेसीजका अध्यक्ष लालमणी भण्डारीले बताए । १६ वटा क्लवहरु सहभागी भएको प्रतियोगितामा १५ खेल हुने उनले जानकारी दिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस