सुशीला आचार्य
१३ बर्षको छोरा र १० बर्षको छोरी भएकी ३० बर्षिय महिला संग भेट्ने मौका मिल्यो । भेट भएको त्यो शुरुको दश मिनेट सम्झदा अहिले पनि नमिठो लाग्छ । करिब दश मिनेट त उनको बोलीनै आएन । मात्र पिडा महशुस गरिएका आँशुका धारा मात्र बर्षिय । त्यसपछि उनले आफ्ना कुरा गरिन । बिहे भएको १३ बर्ष भएको रहेछ । विहे भागेर गरेको रे । प्रेम बिबाह भएपनि विहे पछिका उनका दिन सुखद भएनन् । बिहे पछि धेरैै दुःख सहनु पर्यो । सबै दुःख पीडालाई दबाएरै उनको जीबन संघर्ष चलीरह्यो । उनी भन्छिन् अनेक संघर्ष गरी घर बनाएँ, व्यापार गरेँ । पढेकी छैन् । तैपनि व्यापार राम्रो चलाउथेँ । त्यही ब्यापारबाट नै घर बनाउन सके । आर्थिक रुपमा सक्षम बने ।

Advertisements

व्यापार गर्ने शिलशिलामा धेरै मान्छे संग फोनमा कुरा गर्नुपर्ने । सामानको अर्डर लिनुपर्ने । उनको कामको सफलता प्रगती श्रीमानलाई सह्य भएन् । उनीमाथि अनेक चारित्रिक आरोपहरु बर्सिन थाले । विरामी पर्दा अपहेलित हुन थालीन । घरमा बस्न नसक्ने अबस्थामा पुगिन् । आफन्तकोमा बस्न बाध्य उनी भन्छिन औषधी उपचारलाई पैसा पाउदिन, छोरा छोरी संग भेट्न, कुराकानी गर्न पाउदीन् । आफै अस्वस्थ छु । कति दिन अर्काको घरमा बसेर पुग्छ र मलाई ?

यस्तै ४० बर्षिय अर्की महिला त्यस्तै सुनाउछिन । छोरा छोरीको बिहे भैसक्यो । श्रीमानले मार्छु, काट्छु । अर्काे बिहे गर्छु भन्दै धम्की दिन्छ । यो उमेरमा मिहेनत गरेर बनाएको घर बास छोडेर म कहाँ जाउ ?

यि माथिका दुई उदाहरणले के प्रष्ट पार्छ भने गाउँ समाजमा हिंसा बढिरहेको छ । हिंसा धेरै प्रकारका हुन्छन् । शारिरीक, यौनिक, मानसिक, सांस्कृतिक, सामाजिक हिंसा । यहाँ कुरा मानसिक हिंसा संग जोडेर गर्न चाहन्छु । मानसिक हिंसा भन्दा व्यक्तिको आत्मसम्मान तथा स्वाभिमानमा आँच आउनेगरी अपमान गर्न, अपशब्द प्रयोग गर्नु, गाली गलौज गर्नु, विभिन्न तरिकाले डर, धम्की दिनु, अपमानित गर्नु, भेदभाव गर्नु, स्रोत साधन माथि बञ्चित गर्नु, अरुका अगाडी होच्चाउने, विरामी भएको अवस्थामा औषधी उपचार नगर्नु, खान, बस्न नदिनु, अपराधिक घटनाहरु हेर्न लगाउने, काट्छु, मार्छु भनी धम्की दिने, बुवा आमाको नाम जोडेर गाली गर्ने, कुनै कुरा प्रति अन्धभक्त हुन लगाउने । जस्ता क्रियाकलापले कुनै पनि व्यक्तिको व्यक्तिगत तथा सामाजिक विकासमा रोकावट आई उसको दैनिक जीवन नै असहज भई भयवित जीवन विताउन बाध्य बनाउने क्रियाकलपानै मानसिक हिंसा हो । जो बालबालिका, महिला, पुरुष सवैमा हुन्छ ।

मानसिक हिंसाका प्रभावहरु
मानसिक हिंसामा परेका व्यक्तिहरुले आफुलाई एक्लो महशुस गर्ने, रुने, लाज धक, हिनता बोध, महशुस, चिन्ता, निस्कृय हुने, खाना खान मन नलाग्ने, संवेगात्मक रुपमा शुन्य हुने, लागु पदार्थ प्रयोग गर्ने, आत्म हत्याको सोच, डर मान्ने, मुर्छा पर्ने, शरिर तातो पिरो भई हातमा पसीना आउने, असहायपन महशुस गर्ने, अरुको विश्वास नगर्ने, परिवार देखि टाढा जान मन लाग्ने, आफु अगाडि भएका अन्य क्रियाकलापलाई नकारात्मक रुपमा बढि लिने, आत्महत्या गरिहाल्ने जस्ता व्यवहारहरु देखा पर्छन् । यस्ता समस्या धेरै दिन दुई हप्ता बढि निरन्तर दैनिकी रुपमा देखा पर्न थालेमा प्रभाबित उदासनिता तिर जान सक्छ ।

सहयोग
प्रभावित व्यक्तिहरुको उपचारमा चार क्षेत्रमा ध्यान दिनुपर्छ । शारिरीक, मानसिक, सामाजिक र कानुनी । जसमध्ये हिंसा प्रभावितको व्यक्तित्व सामाजिक सहयोग र असहयोग परिवेश व्यक्तिको पुरा व्यक्तित्व हेरेर कार्य गर्नुपर्छ । यस्तो वेलामा सहयोगको खाँचो पर्छ । मानसिक रुपमा परेका नकारात्मक असरहरु लामो समयम सम्म पनि निको हुदैनन् । मनमा आएका नकारात्मक सोच लाई बढि आत्मसाथ गर्ने हुनाले उनिहरुमा देखिएका बढि समस्या कम गर्नुपर्छ । जसरी शारिरीक चोटलाई मलम पट्टी लगाईन्छ ।

त्यसैगरीनै उनिहरुमा मनमा रहेका कुराहरुलाई सुनि दिनुपर्छ । अनुभुती दिदै उनिहरुकै परिवेशमा रही सहयोग गर्नुपर्छ । उनिहरुमा रहेका सकारात्मक पक्षलाई उजागर गरिदिनुपर्छ । सोचाइ र भावनालाई अभिव्यक्त गर्नका लागि सामाजिक क्रियाकलापमा सहभागी हुन लगाउनुपर्छ । संरचनात्मक डर हटाउनु पर्छ । त्यसका लागि कानुनी रुपमा ढुक्क बनाउन सहयोग गर्नुपर्छ । नागरिकता, जन्मदर्ता, बिहे दर्ता गर्नुपर्छ । मनोबैज्ञानिक चिकित्सकीय उपचारात्मक सेवा, मनोविमर्श सेवा प्रदान गरिनुपर्छ । समन्वयको सुदृिढकरण गर्नुपर्छ । सहयोगी सञ्जालबाट स्रोत र सहयोग सेवा विच साटासाट गर्ने बातावरण सृजना गर्नुपर्छ । जुन सहयोग घर, परिवार, समुदाय, साथीभाई हरेक सरोकारवाला निकायले गर्न सक्छन् ।

समस्या रहेका व्यक्तिले सममानै मनोसामाजिक सहयोग पाएमा स्वस्थ सामाजिक सम्वन्ध कायम गरी आफ्ना जीवनमा आईपने बाधा अड्चन भावनात्मक तनावलाई सही तरिकाले सामना गर्दै आफ्ना स्रोत तथा समाधानलाई सहि रुपमा परिचालन गरी मनोसामाजिक तथा सामाजिक रुपमा आफुलाई स्वस्थ राख्दै सामाजिक विकास गर्न सकिन्छ ।
                                                                                               (लेखक ओरेक दाङकी मनोविमर्शकर्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस