घोराही, १० फागुन । प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । गत माघ २४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद वलीको काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारका क्रममा आज विहान ३ बजे निधन भएको हो ।

उहाँको शवलाई पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा श्रद्धाञ्जली दिई हेलिकप्टरबाट आजै दिउँसो ३ बजे तुलसीपुर ल्याइने बताइएको छ । शवलाई आज साझ एयरपोर्ट नजिक निवासमा राखिने र भोलि बिहान तुलसीपुर अञ्चल पार्टी कार्यालयमा राखेर १० बजे दंगीशरण गाउँपालिका श्रीगाउँ लेटार घरमा पुर्‍याएर अन्तिम दाहसंस्कार गरिने जनाइएको छ । सांसद ओली दाङ क्षेत्र ३ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा विजयी हुनुभएको थियो ।

२०५६ मा तत्तकालिन नेकपा एमालेको सदस्यता प्राप्त ३६ वर्षका सांसद ओली पछिल्लो समय पार्टी राजनीतिमा चर्चामा आएका थिए । दाङमा लोकप्रिय युवा नेताका रुपमा स्थापित ओलीको पार्टीको केन्द्रीय तहसम्म बलियो पकड थियो ।

दुर्घटनाका कारण ओलीको टाउको, खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो । अस्थायी राजधानी बुटवलबाट गृहजिल्ला दाङ फर्कँदै गर्दा लमहीतर्फ जाँदै गरेको ना ख ५५२९ नम्वरको यात्रुबाहक बससँग सांसद ओली चढेको बा १८ च ६८३६ नम्वरको कार घोराही ३ को मसोटपुल देखि १ किलो मिटर अगाडि ठोक्किँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । उक्त बसमा सवार रुकुम खलांगा–२ मुसिकोटकी २६ वर्षीया रमिता शर्माको सोही बसले च्यापेर मृत्यु भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस