दाङ, २७ चैत । घोराही उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा पाठ्यपुस्तकका लागि रकम नआउँदा पाठ्यपुस्तक खरीदमा समस्या भएको सम्वन्धित विद्यालयहरुले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी कार्यक्रम अन्तर्गत सेवाप्रदायक निकाय र सेवाग्राहीवीच आज घोराहीमा भएको अन्तरक्रिया कार्यक्रममा विद्यालयका शिक्षकहरुले नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दासम्म पनि रकम पाउन नसकेको बताए ।

बैशाखको पहिलो हप्तादेखि पठनपाठन सुरु हुन्छ तर अहिलेसम्म पाठ्यपुस्तकका लागि विद्यालयको खातामा रकम आइपुगेको छैन मावि जजरागाउँका संरक्षक शिक्षक ध्रुवराज अधिकारीले भन्नुभयो,– उधारोमा व्यवसायीले पुस्तक दिन मानिरहेका छैनन् । कसरी पठनपाठन गर्ने हो ? उहाँले अघिल्ला वर्षमा फागुनमा रकम निकासा हुन्थ्यो चैतको २०/२२ सम्म सबै विद्यार्थीका हातमा पुस्तक पुर्‍याउने गरेको जानकारी दिनुभयो । मावि झिङ्नीका संरक्षक शिक्षक बामदेव अधिकारीले रकम आउन ढिलाई भएपछि पुस्तक लिएर पछि भुक्तानी दिनेगरी काम गर्न उपमहानगरअन्तर्गतको शिक्षा महाशाखाले आग्रह गरे पनि व्यवसायीले नदिएको गुनासो गर्नुभयो ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख नारायण पौडेलले कर्मचारी समायोजनका कारण काममा ढिलाई भएको उल्लेख गर्दै वैशाख ६ गतेसम्म सबै विद्यार्थीहरुका हातमा पुस्तक पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो । ‘कर्मचारी समायोजनले प्रमुख कार्यकारी, लेखा अधिकृतलगायतको समायोजन हुँदा काममा ढिलाई भएको हो, तर भोलl नै उपमहानगरअन्तर्गतका सबै विद्यालयको खातामा रकम पुग्छ’ शिक्षा महाशाखाका प्रमुख पौडेलले भने,– ‘बैशाख ६ गतेसम्म सबै विद्यार्थीका हातमा पुस्तक पुर्‍याउन सकिन्छ । कतिपयले पछि भुक्तानी गर्ने शर्तमा पुस्तक लगिसकेका छन् । ठूलो समस्या हुँदैन ।

उपहानगरकी उपप्रमुख सीता सिग्देल न्यौपानेले शिक्षा, स्वास्थ्य र खाद्यअधिकारप्रति उपमहानगर गम्भीर रहेको बताइन् । घोराही उपमहानगरपालिकामा ९८ सामुदायिक विद्यालय छन् । तीमध्ये केहीले मात्रै पुस्तक उधारोमा लगेको पुस्तक व्यवसायी संघका पूर्व जिल्ला अध्यक्ष घनश्याम बरालले बताए । उनका अनुसार दाङका दशवटै पालिकामा सबै पुस्तक पुग्न नसकेको र रकम अभावकै कारण पुस्तक पठाउन नसकिएको हो ।

कार्यक्रममा शिक्षा स्वास्थ्य र खाद्यअधिकारका विषयमा मानवअधिकार निगरानी समुह, बालचेतना समुह, संरक्षक शिक्षक र पत्रकारहरुले जिज्ञासा राखेका थिए । जिल्लास्तरीय मानवअधिकार निगरानी समूहका संयोजक केशवकुमार शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा महाशाखा, स्वास्थ्य महाशाखा प्रमुख, घोराही उपमहानगरपालिका वडा नं. ६ र ७ का अध्यक्षलगायत जनप्रतिनिधि, कर्मचारी र अधिकारकमीहरुको सहभागिता थियो ।

इन्सेक प्रदेश कार्यालय नेपालगञ्जकी फोकल पर्सन सरस्वती मल्लको विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सञ्चालन इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागरले गरेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस