घोराही, १७ चैत । घोराही उपमहानगरपालिकाले सरकारी विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा अनेत्र कोचिङ, ट्युसन र निजी विद्यालयहरुमा गएर पठन पाठन गर्नमा रोक लगाउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको आज बसेको ५२औँ बैठकले विद्यालय समयमा सरकारी विद्यालयका शिक्षकहरु अन्यत्रै गएर पढाउने गरेको पाइएको भन्दै विहान १० देखि अपरान्ह ४ बजेसम्म विद्यालयमै रहने र अन्यत्र गई कोचिङ, ट्युसन र निजी विद्यालयमा पढाउने कार्यलाई कडाईका साथ रोक्ने निर्णय गरेको हो ।

विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकहरुसँग समन्वय नै नगरी अन्यत्र कोचिङ सेन्टर र प्राइभेट विद्यालयहरुमा गएर पढाउदा सम्बन्धित विद्यालयको पढाइमा गम्भीर असर परेपछि यस्तो निर्णय गरिएको प्रवक्ता तथा शिक्षा समिति संयोजक भरत अर्यालले जानकारी दिनुभयो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले विद्यालय समयमा विद्यालयमै रहन र अन्य समयमा व्यवस्थापन समितिसँगै प्रधानाध्यापकसँगको अनुमति लिएर मात्रै कार्यहरु गर्न भन्ने गरी सबै विद्यालयमा पत्राचार गर्ने निर्णय भएको छ ।

यसैबीच बैठकले चैत्र २१ गते गर्ने भनिएको नगरको सार्वजनिक सुनुवाई आगामी बैशाख ५ गते गर्ने निर्णय गरेको छ । साथै घोराही उपमहानगरपालिका १६ को सार्वजनिक जग्गालाई गौशाला बनाउन वडा नम्बर १३, १४, १५ का अध्यक्ष र १६ का कार्यवाहक अध्यक्षहरुलाई अध्ययन गर्न जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस