बालकृष्ण पाण्डे
हापुरे, २२ फागुन । दाङको पश्चिममा रहेको बबई गाउँपालिकाले बृहत् गुरुयोजना तयार पार्ने भएको छ । गाउँपालिकाको समग्र विकासकालागि बृहत गुरु योजना निर्माणको काम शुरुवात गरिएको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिनुभयो ।
बबई गाउँपालिकाले आगामी १५ बर्षको योजना सहित गुरुयोजना तयार पार्न थालेको अध्यक्ष पौडेलले बताउनुभयो । पौडेलले बबई गाउँपालिकाले वृहत गुरुयोजना तयार पार्ने कामका लागि अन्तरक्रिया कार्यक्रम गरेर आवश्यक सुझावहरु लिइएको बताउनुभयो ।
१५ बर्षे गुरुयोजना निर्माण गर्ने कामलाई ईन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टर ले जिम्मा लिएको बबई गाउँपालिकाका योजना शाखा प्रमुख तिलक केसीले जानकारी दिनु भयो । ईन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टरले गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल एवं स्थलगत अवलोकनको काम गरेको संस्थाका अर्थशास्त्री हुमलाल भण्डारीले जानकारी दिनुभयो । सोही क्रममा गुरुयोजना निर्माणको पहिलो चरणमा विभिन्न पक्षको स्थलगत अध्ययन गरिएको थियो ।
अध्ययनपछि ईन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टरले बुधबार बबई गाउँपालिकाका लागि तयार पारेको प्रतिवेदन तथा रिर्पोटहरु प्रस्तुत गरेको थियो । बबई गाउँपालिकाका निर्वाचित जनप्रतिनीधि, बबई गाउँपालिकामा कार्यरत विभिन्न संघ सस्थाका कर्मचारी संघ संस्थाका प्रतिनिधि राजनीतिक दलका प्रतिनिधिहरुले गुरुयोजनामा समेटिएका विषयमा सुझावहरु दिएका थिए ।
बबई गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यंक्रममा ईन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टरको विज्ञ टोलीले बबई गाउँपालिकाको बृहत गुरुयोजनाको बारेमा जानकारी गराएका थिए । उनिहरुले बबई गाउँपालिकाको समग्र बस्तुस्तीथिलाई समेटेर गुरुयोजना निर्माण गरेको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । ईन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टरले निर्माण गरेको बृहत गुरुयोजनामा बबई गाउँपालिकाको सडक, आवास, खानेपानी, यातायातका बारेमा समेटिएको छ । यस्तै गाउँपालिकाको सिचाइ, उर्जा, सञ्चार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, लगायत बबई गाउँपालिकाको वस्तुस्थिति, तथ्याङ्क विश्लेषण, विकास योजनाको बारेमा अध्ययनको प्रतिवेदन प्रस्तुत गरीएको थियो ।
त्यसैगरी बबई गाउँपालिकाले उच्च महत्व र प्राथमिकताका साथ केन्द्र भागमा राखेर गर्नुपर्ने योजना तथा कार्यक्रमहरू, विकास योजना प्राथमिकिरण, दिगो विकासका लक्ष्यहरु, अनुगमन तथा मूल्याङ्कनको बारेमा पनि अध्ययन प्रतिवेदनमा प्रस्तुत गरीएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नेपालको संविधानको अनुसूची ८ मा उल्लेख भएका स्थानीय तहको अधिकारको थप व्याख्या गरी स्थानीय सरकारलाई स्थानीय स्तरका समग्र विकासका योजनाहरू निर्माण, कार्यान्वयन तथा अनुगमन गर्ने अधिकार प्रदान गरेको छ ।
बृहत गुरुयोजना निर्माण गर्नुको मुल उद्देश्य भनेको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, रणनीति तथा कार्यनीति र कार्य योजना तयार हुने, सो कार्यका लागि गाउँपालिकाको स्पष्ट आधार नक्सा तयार गर्ने, भौतिक पूर्वाधार विकास योजना, आर्थिक विकास योजना, वातावरण तथा विपद व्यवस्थापन, योजना, सेवा प्रवाह तथा संस्थागत विकास योजना, भू–उपयोग योजना, सामाजिक–सांस्कृतिक विकास योजना बनाउने, व्यापक जनसहभागितामा क्षेत्रगत लक्ष्य, उद्देश्य, अपेक्षित परिणाम र कार्यक्रमहरूको निर्धारण गर्ने रहेका छन् ।
अभिमुखिकरण कार्यक्रमा बोल्दै बबई गाउँपालिका अध्यक्ष पौडेलले बबई गाउँपालिकाको समग्र विकासका लागि गुरुयोजनाले ठूलो सहयोग पुग्ने बताउनु भएको छ । उहाँले वृहत गुरुयोजनाले बबई गाउँपालिकालाई आगामी दिनमा बिकासको काम अघि बढाउन सहयोग पुग्ने बताउनुभयो । साथै उहाँले भोलीको बबई गाउँपालिका कस्तो बनाउने भन्नेबारे अहिलेनै सबैले सोच्नु पर्ने पनि बताउनु भयो ।
गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बसन्तराज अधिकारीले गाउँपालिकाको बृहत गुरुयोजनाको नियमन गर्ने सम्यन्त्र हुनुपर्ने बताउनु भएको थियो । बबई गाउँपालिकाका उपाध्यक्ष साबित्रा बिश्वकर्माले बिकाश निर्माणका कार्यहरु अगाडी बढाउन बृहत गुरु योजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले गुरुयोजना कार्यन्वनकालागि सबैको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा बबईका अध्यक्ष जितबहादुर ओली, नेका प्रतिनिधि तथा समाजसेवी कुलबहादुर के सी, वडा नं ३ का अध्यक्ष नन्दलाल ओलि लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन तिलक के सीले गर्नुभएको थियो ।
![](https://www.sancharonline.com/wp-content/uploads/2021/06/1-1.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)