दाङ, २६ फागुन । बवई गाउँपालिका वडा नं. १ निवासी बाटुली पुन ६९ बर्ष पुग्नुभयो । उमेरका हिसावले उहाँले नागरिकता १६ बर्षमै पाउनुपर्ने थियो । उहाँलाई नागरिकता लिनका लागि तुलसीपुरमा रहेको इलाका प्रशासन कार्यालयसम्म आउन पनि समस्या थियो । पुनलाई तुलसीपुरसम्म आउनका लागि शारिरिक समस्या थियो । अर्थात उहाँ दृष्टिविहीन हुनुहुन्थ्यो । दृष्टिविहीन भएकाले नागरिकता लिनका लागि आउन नपाउनुभएका उहाँलाई जिल्ला प्रशासन कार्यालय दाङले राखेको घुम्ती शिविर सहयोगी बन्यो ।

२००६ साल फागुन २० गते जन्मनुभएकी बाटुलीले ६९ बर्षको उमेरमा नागरिकता पाउनुभयो । इलाका प्रशासन कार्यालय तुलसीपुरको संयोजन र बवई गाउँपालिकाको सहयोगमा आयोजना गरिएको दुई दिने घुम्ति शिविरमा बाटुली जस्तै एक सय २७ जनाले नागरिकता बनाउन पाउनुभयो । नागरिकता बनाउन पाएपछि बाटुली निकै खुशी हुनुभएको थियो । ‘यो उमेरमा भए पनि नागरिकता बनाउन पाए । यहि आएर नागरिकता वितरण गरिदिनु भएकोमा सरहरुलाई धन्यवाद दिन चाहन्छु ।’ उहाँले भन्नुभयो ।

यस्तै २००४ सालमा जन्मनुभएका विवा दमाईले पनि गँगटेमा आयोजना गरिएको घुम्ति शिविरबाट नागरिकता लिनुभयो । ७१ बर्षको उमेरमा नागरिकता लिन पाएपछि उहाँ पनि खुशी देखिनुभएको थियो । नागरिकता लिन अनुकुल परिरहेको थिएन, घुम्ति शिविरले त्यो अवसर जुटाइदियो ।’ उहाँले भन्नुभयो । गँगटेमा आयोजना गरिएको शिविरमा एक सय २७ जनालाई नागरिकता र एक सय ६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको इलाका प्रशासन कार्यालयका निमित्त कार्यालय प्रमुख श्रीधर टण्डनले जानकारी दिनुभयो ।

बवई गाउँपालिकाको दाङको पश्चिमको गाउँपालिका हो । बवईको विकट वडाका रुपमा वडा नं. १ रहेको छ । वडा नं. १ को गँगटे झन विकट मानिन्छ । गँगटेबाट सरकारी सेवा लिनका लागि तुलसीपुरसम्म आउन स्थानीयलाई कठिनाई हुने गरेको छ । यस अघि २०७० सालमा गँगटेमा घुम्ति शिविर आयोजना गरिएको थियो । घुम्ति शिविर आयोजना गरिएपछि स्थानीयको उत्साहजनक उपस्थिति रहेको इलाका प्रशासन कार्यालयका शाखा अधिकृत टण्डनले बताउनुभयो ।
दुई दिनका लागि आयोजना गरिएको घुम्ती शिविरमा पुरुषको तुलनामा महिलाहरुले बढी सेवा लिएका थिए । नागरिकता बनाउने एक सय २७ मध्य ८६ जना महिलाहरु थिए भने पुरुषको संख्या ४१ थियो । यस्तै मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुमा महिलाको संख्या एक सय तीन थियो ।

गँगटेका पुरुषहरु कमाईका लागि देश बाहिर जाने भएकाले पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल बताउनुहुन्छ । गाउँमा जिल्ला प्रशासन कार्यालयले घुम्ति शिविर सञ्चालन गरेर घर आँगनमै सेवा दिएर राम्रो काम गरेको पौडेलले बताउनुभयो । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र ववई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले शुक्रबार घुम्ति शिविरको शुभारम्भ गर्नुभएको थियो । घुम्ति शिविरसंगै स्वास्थ्य शिविर पनि स्थानीयले माग गरेका थिए । स्थानीयको मागलाई सम्वोधन गर्नका लागि आगामी दिनमा स्वास्थ्य शिविर संचालन गर्ने धारणा पनि गाउँपालिका अध्यक्ष पौडेलको छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले दाङका सवै स्थानीय पालिकाका विकट बस्तीहरुमा कार्यालयले घुम्ति शिविर संचालन गरिरहेको बताउनुभयो । उहाँका अनुसार एक महिना अघि राजपुर गाउँपालिकाका शिविर आयोजना गरिएको थियो । त्यस अघि लमही नगरपालिकामा कार्यालयले शिविर आयोजना गरेको थियो । घोराही उपमहानगरपालिकाको वडा नं. १६ मा पनि यस अघि जिल्ला प्रशासन कार्यालयले घुम्ति शिविर संचालन गरेको थियो । अवको शिविर पहाडी गाउँपालिकाको रुपमा रहेको बंगलाचुलीमा आयोजना गर्ने तयारी गरिएको पनि प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । हरेक महिना कुनै न कुनै गाउँपालिका वा नगरपालिकाका विकट बस्तीमा पुगेर जिल्ला प्रशासन कार्यालयले घुम्ति शिविर मार्फत सेवा दिने योजना बनाएको पनि प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस