फारुलाचौर (सल्यान), २६ वैशाख । दार्मा गाउँपालिकाको सहयोग तथा रेडियो शारदाको आयोजनामा ३ दिने आधारभूत पत्रकारिता तालिम बिहीबारदेखि सुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर के.सी.ले स्थानीय तहमा पत्रकारिता क्षेत्रतर्फ आकर्षित युवाहरुको दक्षता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको बताउनुभयो । स्थानीय तहमा भएका गतिविधि, घटना एवं जानकारीहरुलाई सञ्चार माध्यममा ल्याउन तालिम फलदायी हुने उहाँको धारणा थियो ।
उक्त अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले तालिमका सहभागीहरुलाई तालिम अवधिभर ध्यानपूर्वक सिक्न अनुरोध गर्दै समाज रुपान्तरणमा पत्रकारिताका माध्यमबाट कलम चलाउन आग्रह गर्नुभयो । सहभागीहरुले तालिम सिक्ने मात्रै भन्दा पनि समाजको वस्तुगत अवस्था सञ्चार माध्यममा आउनुपर्ने उहाँको भनाइ थियो ।
उक्त अवसरमा वडा नं. ३ का अध्यक्ष सेतीराम रोकाहा, वडा नं. ६ का अध्यक्ष दुर्गाबहादुर मल्ल, वडा नं. २ का अध्यक्ष डिल्लीबहादुर केसी, दार्मा गाउँपालिकाका रोजगार संयोजक किरण गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शनिबारसम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा र गणेशमान सिंह रहनुभएको छ । तालिममा गाउँपालिकाका ६ वटै वडाका गरी २४ जना युवाहरुको सहभागिता रहेको छ ।











