दार्मा, ७ वैशाख । कोरोना भाइरसका कारण लामो समयदेखि भएको लकडाउनले नागरिकहरुमा खाद्यान्नको सहज आपूर्ति नभएपछि दार्मा गाउँपालिका सल्यानले गाउँपालिकामा रहेका सहकारीमार्फत खाद्यान्न उपलब्ध गराउन सुरु गरेको छ । स्थानीय बजारमा दैनिक उपभोग्य खाद्यान्न सामग्रीको अभाव एवं महङ्गी देखिएपछि त्यसलाई सहज बनाउन गाउँपालिकाले सहकारीमार्फत सेवा प्रवाह सुरु गरेको हो ।

सेवा प्रवाहको लागि जारी गरेको सूचना बमोजिम सूचीकृत हुन आएका सहकारीलाई खरिद मूल्यको अधिकतम ३ प्रतिशत मात्र मुनाफा सहकारी कोषमा राख्ने र ढुवानी रकम गाउँपालिकाले अनुदान दिनेगरी सम्झौता गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिनुभयो । यसरी सम्झौता पश्चात् बजारमा ३ हजार रुपैयाँ पर्ने ५० केजी सोना मनसुली चामललाई सहकारीले २२८० मा नै उपलब्ध गराउँदै आएका छन् । गाउँपालिकाकाबासीको छाक बस्न नदिन चामल, दाल, नुन र तेल आदि अत्यावश्यक खाद्यान्न सहकारीले उपलब्ध गराइरहेका छन् । खरिद भएका खाद्यान्नको ढुवानी भने गाउँपालिकाले निःशुल्क गरिदिएको छ ।

हाल दार्मा गाउँपालिका वडा नं. ५ को ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, वडा नं. १ को मातृभूमि महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, वडा नं. २ को दार्माकोट साना किसान कृषि सहकारी संस्था लिमिटेड, वडा नं. ४ को भल्चौर साना किसान कृषि सहकारी संस्था लिमिटेडले सम्झौता गरी सहुलियत खाद्यान्न वितरण गरिरहेका छन् ।

खाद्यान्न वितरणलाई व्यवस्थित गर्न गाउँपालिकाले प्रतिदिन, प्रतिव्यक्ति १ किलोका दरले एक महिनाका लागि आवश्यक खाद्यान्न वितरण गर्न सहकारीलाई निर्देशन दिएको छ । सहुलियतमा पाएको खाद्यान्न समेत महङ्गोमा बेच्नसक्ने भएकाले त्यसलाई रोक्न मापदण्ड बनाएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो । निःशुल्क रुपमा खाद्यान्न उपलब्ध गराउनुपर्ने अति बिपन्न मजदुर तथा परिवारलाई वडाको सिफारिसको आधारमा गाउँपालिकाको निर्णयअनुसार सहकारीमार्फत नै राहत उपलब्ध गराइने र त्यसको भुक्तानी सहकारीलाई नै दिइने अध्यक्ष केसीले बताउनुभयो ।

सहकारीले राम्रो काम गर्दै आएको र त्यसमा अधिकांश स्थानीयको सहभागिता हुने हुँदा सहकारीमार्फत बिक्री वितरण गरिएको गाउँपालिकाले बताएको छ । नगद रकम नभएका सामाजिक सुरक्षा भत्ता लिइरहेका जेष्ठ नागरिक, एकल महिलाहरुलाई सामाजिक सुरक्षा कार्ड तथा सहकारीका सदस्यहरुलाई बचत कार्ड धितो राखेर समेत खाद्यान्न लग्न सकिने व्यवस्था गाउँपालिकाले मिलाएको छ । हालसम्म सहुलियतको खाद्यान्न २२ टन बिक्री वितरण भइसकेको र २५ टन खाद्यान्न आज आइपुग्ने र तत्काल वितरणको व्यवस्था मिलाएको गाउँपालिकाले बताएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस