दार्मा, १९ वैशाख । दार्मा गाउँपालिकास्थित सहकारीद्वारा सुपथ मूल्यमा उपलब्ध गराइएको चामल तोकिएको अनिवार्य गुणस्तरको रहेको गाउँपालिकाले जनाएको छ । स्थानीय व्यापारीबाट सहकारीद्वारा उपलब्ध गराइएको खाद्यान्न गुणस्तरहीन भएको अभिव्यक्ति आएपछि गाउँपालिकाले नमुना सङ्कलन गरी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज पठाएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको मिति २०७७।०१।१६ गतेको चलानी नम्बर ३६६ को विश्लेषण प्रतिवेदनमा “प्राप्त नमुना नेपाल सरकारको चामलको लागि तोकेको अनिवार्य गुणस्तर अनुसार पाइएको” उल्लेख छ ।

सहकारीद्वारा वितरित चामलको बोरामा ब्राण्ड र लोगो उल्लेख नभएको पाइएको छ । सो सम्बन्धमा चामल बिक्रेता चन्द्रसूर्य खाद्य उद्योग कपिलवस्तुले लकडाउनका कारण र तत्कालै धेरै परिमाणमा चामल पुर्‍याउँदा यथार्थ स‌ंकेतपत्र प्रिन्ट गर्न नसकिएको लिखित जानकारी दिएको छ ।

यसैबीच गाउँपालिकामा रहेका भल्चौर साना किसान कृषि सहकारी संस्था र दार्माकोट साना किसान कृषि सहकारी संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै सेवालाई थप प्रभावकारी बनाउने बताएका छन् । लकडाउनका कारण खाद्यान्नको सङ्कट हुन नदिन ढुवानीमा गाउँपालिकाले अनुदान दिनेगरी सम्झौता गरी सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउँदा गुणस्तरहीन खाद्यान्न उपलब्ध गराएको भनी मिडियामा आएको समाचार तथा सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति विज्ञप्तिमा खेद प्रकट गरिएको छ ।

विज्ञप्तिमा व्यक्तिगत स्वार्थबाट माथि उठेर मानवीयतालाई व्यावहारिक रुप दिन समेत आग्रह गरिएको छ । तीनखम्बे अर्थ नीतिको एक खम्बा सहकारी भएको भन्दै विज्ञप्तिमा सहकारीको प्रवद्र्धन गरी सङ्कटको समयमा नागरिकलाई राहत प्रदान गर्न सुपथ मूल्यको पसल सञ्चालन गरिएको उल्लेख छ ।

भल्चौर साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिकला मल्ल र दार्माकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष चन्द्रकला रोकायद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “गुणस्तरीयताको हवाला दिँदै केही व्यापारीहरुको आपत्तिस्वरुप बद्नियतपूर्वक गरिएको कुप्रचार हो ।” साथै तथ्यहीन समाचार र भ्रममा नपर्न समेत विज्ञप्तिमार्फत आम उपभोक्ताहरुलाई आग्रह गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस