दार्मा, ०९ असार । दार्मा गाउँपालिका सल्यानले स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७७/०७८ को लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीले सोमबार ‘रोकौँ महामारी, उठाऔँ पूर्वाधार, बढाऔँ उत्पादन, बनौँ स्वरोजगार’ भन्ने मूलनारासहित गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

कोरोना सङ्क्रमण विश्वभर महामारीका रुपमा फैलिएको अवस्थामा गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आफ्नो नीति कार्यक्रम सार्वजनिक गरेको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको व्यवस्था गर्दै नागरिकलाई महामारीबाट सुरक्षित राख्ने कार्यक्रम अघि सारेको छ । कोरोना नियन्त्रणका लागि मनोसामाजिक परामर्शसहित सचेतनामूलक कार्यक्रम र रोगप्रतिरोधात्मक क्षमता बृद्धिका लागि घरेलु विधि अपनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिका अध्यक्ष केसीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यसै आर्थिक वर्षदेखि बहिरङ्ग सेवासहित प्रसूति सेवा दिने उद्देश्य राखी आधारभूत सुविधासहितको अस्पताल सञ्चालन गर्ने बताउनुभयो ।

दार्मा गाउँपालिकाभित्रको बेरोजगारी हल गर्न निर्माण, उत्पादन तथा उद्यम र व्यावसायिक सीप विकासलगायतका प्रत्यक्ष रोजगारी सिर्जना हुने कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकता दिएको छ । विकासलाई दिगो बनाउन सडक निर्माण गर्दा कम्तिमा ४० प्रतिशत संरचना निर्माणमा खर्च गर्नेगरी प्रत्यक्ष रोजगारीलाई गाउँपालिकाले बढावा दिएको छ ।

५० बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष केसीले प्रत्येक वडामा सहकारीमार्फत १/१ वटा सुपथ मूल्यका खाद्य डिपो सञ्चालनमा प्रोत्साहन गर्ने बताउनुभयो । कृषिमा चक्लाबन्दी गर्न प्रोत्साहन गर्दै समूह र सहकारी खेतीमा आधारित बजारमुखी उत्पादनले कार्यक्रममा विशेष महत्व पाएका छन् । त्यसैगरी बाँझो जग्गा राख्नेलाई निरुत्साहित गर्दै ठाउँ सुहाउँदो खेती गर्नेलाई प्रोत्साहन, गाउँपालिकालाई दूग्ध पकेट क्षेत्रको रुपमा विकास गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस