तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी दाङ), २३ कात्तिक । देउखुरीका चारै पालिकामा अब आफ्नै आइसोलेसन सेन्टर स्थापना हुने भएको छ । चार पालिकाबाट संयुक्त रुपमा सञ्चालनमा आएको राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा रहेको कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर मंसिर १ गतेबाट बन्द हुने भएपछि छुट्टाछुट्टै आइसोलेसन स्थापना गर्ने निर्णय भएको हो ।

कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर रहेको राप्ती प्राविधिक शिक्षालय भवन प्रदेशसभाको  हिउँदे अधिवेसनको तयारीको लागि आवश्यक पर्ने भएकोले चारवटै स्थानीय तहले आ-आफ्नो पालिकामा आइसोलेसन सेन्टर सञ्चालन गर्नेगरी कोरोना विशेष देउखुरी आइसोलेन सेन्टर बन्द गर्ने निर्णय गरिएको हो ।

आइसोलेसन केन्द्र सञ्चालन तदर्थ समितिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, लमही नगरपालिका उपाध्यक्ष देवका बेल्वासे, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, लेफ्टिनेन्ट कर्णेल विजय बस्नेतलगायतको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो ।राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाहरुको संयुक्त लगानीमा सञ्चालनमा रहेको कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर सञ्चालानार्थ लागेको खर्च  विवरण आइसोलेसन सेन्टर बन्द गरेपछि चारवटै स्थानीय तहको उपस्थितिमा सावर्वजनिक गर्ने र सोको व्ययभार चार पालिकाले वहन गर्ने  निर्णय समेत बैठकले गरेको छ । हालसम्म चार पालिकाका २५५ जना कोरोना संक्रमितलाई आइसोलेट गरी २४६ जनालाई डिस्चार्ज गर्दैै हाल ९ जनामात्र रहेको आइसोलेसन सेन्टर बन्द हुने भएको हो  ।

बैठकले कोरोना विशेष देउखुरी आइसोलेन सेन्टरमा खटिएका नेपाली सेना, स्वास्थ्यकर्मी, अन्य कर्मचारी तथा जनप्रतिनिधिलाई धन्यवाद दिँदै कोरोना संक्रमणबाट बच्नका लागि सबैले सचेतना अपनाउन पर्ने र यदि जो कोहीलाई कोरोना संक्रमण भएमा चारवटै पालिकाले रेखदेखलाई निरन्तरता दिँदै जानेसमेत निर्णय भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस