दाङ, ९ मङ्सिर । तुलसीपुर उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन सरोकारवालासँग छलफल गरेको छ । तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले दिवसबारे सरोकारवालासँग छलफल गरेको हो ।

डिसेम्बर ३ (मङ्सिर १८ गते)मा अपाङ्ग समाज सुधार केन्द्रको भवन उद्घाटन गर्दै सरोकारवालासँग अन्तक्र्रिया गरी दिवस मनाउने निर्णय भएको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख विष्णु आचार्यले जानकारी दिनुभयो । साथै दिवसका अवसरमा तुलसीपुर नगरस्तरीय अपाङ्ग सञ्जालले रक्तदान कार्यक्रम समेत गर्ने भएको छ ।

छलफलका क्रममा शाखाले चालु आर्थिक वर्षमा अपाङ्गताको क्षेत्रमा गरिने कार्यक्रमबारे जानकारी दिनुका साथै सरोकारवालासँग छलफल समेत गरेको थियो । कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्माले नगरले निर्माण गर्ने संरचनाहरु अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई वडा कार्यालयसँग समन्वय गरी मास्क तथा सेनिटाइजर उपलब्ध गराउने, उद्यमशीलता विकास गर्न चाहने अपाङ्गहरुको माग सङ्कलन गर्ने र अनुदानको लागि पहल गर्नेलगायतका निर्णयहरु भएको महिला बालबालिका शाखाकी अधिकृत माया श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन शाखा प्रमुख विष्णु आचार्यले गर्नुभएको थियो ।

१६ दिने अभियानको भोलि उद्घाटन

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको भोलि उद्घाटन कार्यक्रम रहेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउँदै सेतो रिबन बाँधेर कार्यक्रमको उद्घाटन गरिने भएको छ । “लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको प्रतिबद्धता” भन्ने राष्ट्रिय नाराका साथ १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइँदै छ ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानअन्तर्गत पर्ने सम्पूर्ण दिवसहरु सरोकारवालाहरुसँग मिलेर मनाइने महिला, बालबालिका तथा सामाजिक विकास शाखाले जनाएको छ । दिवसका अवसरमा हिंसा विरुद्धको जिङ्गल बजाउने, विभिन्न अन्तक्र्रिया कार्यक्रमहरु गर्ने, हिंसा प्रभावितहरुको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई उद्यमशीलतातर्फ लैजान अनुदानको पहल गर्ने र अन्त्यमा मङ्सिर २५ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाई अभियानको समापन गरिने शाखाले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस