दाङ, २० असाेज । दार्मा गाउँपालिकामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा बालबालिकाहरुको शिक्षण क्रियाकलाप सञ्चालन हुने भएको छ । यही असोज २५ गतेदेखि क्रियाकलाप सञ्चालन हुने गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७” अनुसार कक्षा १२ सम्मका बालबालिकाहरुको शिक्षण क्रियाकलाप सञ्चालन गरिने बताइएको छ। निर्देशिकाअनुसार असोज १ गतेदेखि नै गाउँपालिकामा शिक्षण क्रियाकलाप सञ्चालन भइरहेकोमा असोज ८ गते जिल्ला प्रशासन कार्यालय सल्यानले शिक्षण क्रियाकलाप रोक्न आदेश दिएको थियो ।
प्रशासनको आदेशअनुसार रोकिएको शिक्षण क्रियाकलाप पुनः जिल्ला प्रशासन कार्यालयले निर्देशिका बमोजिम शिक्षण क्रियाकलाप गर्न सकिने परिपत्र जारी गरेपछि सञ्चालन हुने भएको हो ।












