दाङ, ४ वैशाख । दाङ जिल्लाको प्रवेशद्वार धानखोलामा त्रिभुवननगर जेसीजले स्वागत बोर्ड स्थापना गरेको छ । जेसीज सप्ताहको चौथो दिनको अवसरमा महेन्द्र राजमार्गको गढवा गाउँपालिका १ स्थित धानखोला सडकमा ‘लुम्बिनी प्रदेशको राजधानी दाङमा यहाँहरुलाई हार्दिक स्वागत छ !’ उल्लिखित बोर्ड राखिएको हो । दाङ, अर्घाखाँची र कपिलवस्तुको सिमाना रहेको उक्त क्षेत्रमा पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ स्वागत बोर्ड राखिएको त्रिभुवननगर जेसीजले जनाएको छ ।

बोर्ड स्थापना पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले राजधानी घोषणा पश्चात् पहिलो पटक बोर्ड स्थापना गरेकोमा खुसी व्यक्त गर्नुभयो । युवाहरुको सक्रियता देखेर आफू उत्साहित भएको बताउँदै अध्यक्ष यादवले सबैको सक्रियतामा स्वागतद्वार स्थापना गर्ने चाहना व्यक्त गर्नुभयो । पर्यटकलाई दाङ प्रवेशको अनुभूतिका साथै ध्यान केन्द्रित गर्नमा बोर्ड सहयोगी बन्ने उहाँले बताउनुभयो ।

त्रिभुवननगर जेसीज वर्ष २०२१ का अध्यक्ष मुकेश्वर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका वडा नं. १ का अध्यक्ष बाबुराम अधिकारी, दाङ महिला जेसीजकी अध्यक्ष जेसी ममता विष्ट, पूर्व अध्यक्ष जेसी सुशीला पौडेल, त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष जेसी वसन्तराज अधिकारीलगायतले जेसीज सप्ताह सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कानूनी सल्लाहकार विवेक आचार्यको आस्थापाठबाट सुरु भएको कार्यक्रममा जेसीज सप्ताहका मूल संयोजक कुलबहादुर वलीले सप्ताहका कार्यक्रमबारे जानकारी दिनभुएको थियो । कार्यक्रमको संयोजकमा भ्यूकुमार पुन रहनुभएको थियो भने सहजीकरण त्रिभुवननगर जेसीजका कार्यकारिणी उपाध्यक्ष प्रेम प्रकाश डिसीले गर्नुभएको थियो ।

जेसीज सप्ताहअन्तर्गत हालसम्म उद्घाटन कार्यक्रम, शवदाह स्थल तथा जेसीज मार्ग सरसफाई, ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भइसकेका छन् भने भोलि ५ गते मैत्रीपूर्ण फूटसल, ६ गते समुदायमा विरुवा हस्तान्तरण कार्यक्रम र ११ गते समापन कार्यक्रम राखिएको त्रिभुवननगर जेसीजका महासचिव टंकबहादुर रावतले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस