दाङ, १८ जेठ । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा, वडा नं. १९ तथा त्रिभुवननगर जेसीजको सहकार्यमा समुदायमै पुगेर कोरोनाको एन्टिजेन परीक्षण गरिएको छ । एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएका तथा लक्षण देखिएका ३० जना व्यक्तिहरुलाई स्वास्थ्यकर्मीको सिफारिस अनुसार निःशुल्क औषधि वितरण गरिएको त्रिभुवननगर जेसीजका कार्यबाहक अध्यक्ष कुलबहादुर वलीले जानकारी दिनुभयो ।

सोमबार १९ नं. वडाका विभिन्न टोलबाट सङ्कलन गरिएका १७ वटा नमुनामध्ये ७ वटाको पोजेटिभ रिपोर्ट आएको घोराही उपमहनगरपालिकाका हेल्थ असिस्टेन्ट दुर्गाबहादुर गोराथोकीले जानकारी दिनुभयो । पोजेटिभ रिपोर्ट आएका व्यक्तिहरुलाई स्वास्थ्यकर्मी तथा वडा अध्यक्षले मनोपरामर्श समेत गर्नुभएको थियो ।वडा अध्यक्ष हर्कबहादुर घर्तीले समुदायमा सुषुप्त रुपमा कोरोना फैलिएको बताउँदै सबैलाई सचेत रहन आग्रह गर्नुभयो । वडाका ग्रामीण बस्तीहरुमा मानिसले कोरोना परीक्षण गर्न त्यति चासो नदिने र स्वास्थ्यमा समस्या आए मात्रै सम्पर्कमा आउने भएकाले पनि कोरोना बढी फैलिएको उहाँले बताउनुभयो ।

एन्टिजेन परीक्षणका लागि घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाबाट हेल्थ असिस्टेन्ट दुर्गा गोराथोकी, तथ्याङ्क सहायक दुर्गा चौधरी तथा ल्याब असिस्टेन्ट सुनिता विकसहितको टोली खटिएको थियो ।त्रिभुवननगर जेसीजले कोरोना आपत्कालीन उद्धार कोष खडा गरी प्राप्त सहयोगबाट घोराही उपमहानगरपालिकाका ग्रामीण वस्ती तथा बिपन्न वर्गलाई निःशुल्क औषधि प्रदान गर्दै आएको छ । सोही अवसरमा त्रिभुवननगर जेसीजका कार्यबाहक अध्यक्ष कुलबहादुर वली तथा कानुनी सल्लाहकार विवेक आचार्यले सैघा स्वास्थ्यचौकीका लागि नेबोलाइजर मेसिन, थर्मल गन, अक्सिमिटर तथा अन्य औषधिहरु वडा अध्यक्ष हर्कबहादुर घर्ती तथा स्वास्थ्यचौकी इन्चार्ज भरत बुढामगरलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

नागरिकको घरदैलोमै कोरोना परीक्षण तथा निःशुल्क औषधि वितरण पुर्‍याउने उद्देश्यका साथ घोराही उपमहानगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा कार्यक्रम अघि बढाइएको कार्यक्रम संयोजक किरण गौतमले बताउनुभयो । घोराही उपमहानगरपालिकाका सम्पूर्ण वडामा यो अभियानलाई पुर्‍याइने उहाँले बताउनुभयो ।त्यसैगरी जेसीजले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा समेत निःशुल्क औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ । तुलसीपुरनगर जेसीजको समन्वयमा त्रिभुवननगर जेसीजले जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सहभागितामा कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको घरमै पुगेर औषधि वितरण गरेको थियो ।

तुलसीपुरनगर जेसीजका अध्यक्ष नारायण भट्टराई, त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश्वर शर्मा, दाङ महिला जेसीजकी अध्यक्ष ममता विष्ट, वडा नं. १३ का कार्यबाहक अध्यक्ष विनोद पाण्डे तथा फूलबारी स्वास्थ्यचौकीका प्रमुख दामोदर डाँगीसहित सङ्क्रमितको घरमा पुगेको टोलीले औषधि तथा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको त्रिभुवननगर जेसीजका महासचिव अनन्त आरसीले जानकारी दिनुभयो ।त्रिभुवननगर जेसीजले यसअघि घोराही उपमहानगरपालिकाका वडा नं. २, ३, ५, ७ र १७ नम्बर वडामा सङ्क्रमितको घरमै पुगेर स्वास्थ्यकर्मीको सिफारिसअनुसार औषधि वितरण गरिसकेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस