दाङ, ९ फागुन । त्रिभुवननगर जेसीजले बढ्दो सवारी दुर्घटना कम गर्नका लागि घोराहीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । घोराहीको तुलसीपुर चोकमा कार्यक्रम गरी जेसीजले ट्राफिक नियम तथा सवारी साधन चलाउँदा उपनाउनु पर्ने सावधानी बारे जानकारी दिएको हो । उक्त अवसरमा अटो एवं गाडीहरुमा रेडियम स्टिकर समेत टाँस गरिएको थियो ।

त्रिभुवननगर जेसीजको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको समन्वयमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश कुमार पाण्डेले बढ्दो दुर्घटना कम गर्नका लागि सवारी चालकहरुले विशेष सावधानी अपनाउनु पर्ने बताउनुभएको थियो । सवारी चालकहरुले पूर्ण रुपमा ट्राफिक नियमहरु पालना गर्ने हो भने बढ्दो दुर्घटना न्यूनीकरणमा आउने उहाँको धारणा थियो ।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले सवारी चालकहरुले सवारी साधनको गति, पार्किङ, रुट, चालक अनुमतिपत्र लिएर मात्र गाडी चलाउने, क्षमता भन्दा बढी यात्रु नबोक्ने जस्ता कुराहरुमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । जिल्लामा आफूले ट्राफिक प्रमुखको जिम्मेवारी लिएको एक वर्ष पुगेको भन्दै उहाँले अघिल्ला वर्षहरुको तुलनामा दुर्घटना कम भए पनि ट्राफिक व्यवस्थापन पूर्ण प्रभावकारी हुन नसकेको बताउनुभयो । यसका लागि सबै पक्ष गम्भीर भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।

उक्त अवसरमा तुलसीपुर चोकबाट भएर आवतजावत गर्ने अटो एवं गाडीहरुमा रेडियम स्टिकर टाँस गरिएको थियो । रातीको समयमा दुर्घटना बढी हुने गरेको भन्दै रेडियम स्टिकरले सवारी साधन देखिन सहजता ल्याउने भएकोले स्टिर टाँस गरिएको त्रिभुवननगर जेसीजका अध्यक्ष रवि किरण केसीले बताउनुभयो । रातको समयमा हुने दुर्घटनाको क्षति समेत भयावह हुने भएकोले स्टिकर टाँस गरिएको उहाँको भनाइ थियो ।कार्यक्रममा दाङ महिला जेसीजकी अध्यक्ष जुन कुमारी बुढा, त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष, मुकेश्वर शर्मा, विवेक आचार्य, निवर्तमान अध्यक्ष कुलबहादुर वली लगायतको सहभागिता रहेको थियो ।

त्रिभुवननगर जेसीजका अध्यक्ष रविकिरण केसीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई स्वागत कार्यक्रम संयोजक महेश खनालले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिव रमेश घिमिरेले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस