दुर्गालाल केसी
दाङ, १४ असार । नेपाल संस्कृत विश्वविधालय अनुसन्धान केन्द्रले विश्वविधालय अनुदान आयोगको सहयोगमा शनिबारदेखि दाङको बेलझुण्डीमा पौरस्त्य शोध पद्धतीको निरूपणबारे तीन दिने अन्तराष्ट्रीय संगोष्ठी आयोजना गरेको छ ।
पौरस्त्य अर्थात पूर्वीय ज्ञान परम्परामा अनुसन्धानको मौलिक पद्धतिको खोजी गर्ने र उक्त ज्ञानलाई नेपाल र भारतका विभिन्न विश्वविद्यालयमा गरिने शोधकार्यका लागि मानक बनाउने उद्देश्यका साथ गोष्ठी आयोजना गरिएको अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधन कुमार पौडेलले बताए ।
संस्कृतमा अध्ययन अनुसन्धानको परम्परा भए पनि शोधको मानक पद्धतिको विकास हुन नसक्दा देवनागरी लिपिसँग सम्बन्धित शोधकार्यमा संलग्न शैक्षिक संस्था र शोधार्थीहरुले शोधलेखनका क्रममा विभिन्न समस्या झेल्दै आएका छन् । यससँग सम्बन्धित विभिन्न समस्याहरुको पहिचान गरी शोधकार्यलाई व्यवस्थित र एकरुप तुल्याउन गोष्ठीबाट सहयोग हुने अपेक्षा गरिएको उनले बताए ।
गोष्ठीको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गरेका छन् । उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले विश्वविद्यालय गुणात्मक अनुसन्धानमा केन्द्रीत हुनुपर्ने सुझाव दिए । प्राज्ञीक उन्नतीका लागि प्रस्ताव लिएर आए आयोग जती पनि सहयोग गर्न तयार रहेको जानकारी दिंदै उनले आर्थिक कारणले विश्वविद्यालयको सिकाई पद्धतीमा कुनै असर नपर्ने बताए ।
गोष्ठीमा बोल्दै संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपालले विश्वविद्यालयको अनुसन्धानलाई पूर्वीय ज्ञानको खोजमा केन्द्रीत गर्ने बिचार व्यक्त गरे । कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. वेदराज केसी, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुबकुमार गौतम र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकाललको उपस्थिती छ ।
उद्घाटन कार्यक्रमा विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारी, तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्का र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आफ्नो बिचार व्यक्त गरेका थिए ।
गोष्ठीमा भारतका सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसी, महात्मा गान्धी केन्द्रीय विश्वविद्यालय मोतीहारी विहार, लखनऊ विश्वविद्यालय लखनऊ, उत्तरबंग विश्वविद्यालय सिलगढी, नालन्दा विश्वविद्यालय विहार, सिद्धार्थ विश्वविद्यालय उत्तरप्रदेश, डा. भीमराव अम्बेडकर विश्वविद्यालय आगरा र जयपुर राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक एवम् शोधार्थीहरु पनि सहभागी छन् ।
गोष्ठीमा प्राचीन एवम् आधुनिक शोधपद्धतिसँग सम्बन्धित विभिन्न विषयका १० वटा कार्यपत्र प्रस्तुत गरिदै छ । गोष्ठीमा नेपाल र भारतका विभिन्न विश्वविद्यालयमा शोध अनुसन्धानमा क्रियाशील ७० जनाभन्दा बढी सहभागी भएका छन् । गोष्ठीको पहिलो दिन शनिबार तीनवटा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि छलफल भएको छ ।
पहिलो शत्रमा मध्यपश्चिम विश्वविद्यालयका बिज्ञ डा. लक्ष्मीप्रसाद आचार्यले नेपालको शैक्षिक अनुसन्धानका सम्भावना र चुनौती बिषयमा कार्यपत्र प्रस्तुत गरका थिए । कार्यपत्रको टिप्पणी तुलसीपुर उपमहानगरपालिकाका पूर्व प्रमुख घनश्याम पाण्डे र प्रतिवेदन उपप्राध्यापक सुदर्शन रिजालले प्रस्तुत गरेका थिए । पहिलो शत्रको अध्यक्षता संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्रा. लेखनाथ आचार्य र सञ्चालन संस्कृत विश्वविद्यालयका प्रा. कृष्ण पौडेलले गरेका थिए ।
दोस्रो सत्रमा संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा. मतिप्रसाद ढकालले संस्कृत विश्वविद्यालयमा संस्कृत वाङ्मयसँग सम्बन्धित शोधको विकासक्रम शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणी डा. हरीप्रसाद तिमिल्सिना र प्रतिवेदन उपप्राध्यापक पुरुषोत्तम आचार्यले प्रस्तुत गरेका थिए । शत्रको अध्यक्षता संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. भागवतप्रसाद शर्मा र सञ्चालन उपप्राध्यापक हरिलाल पौडेलले गरेका थिए ।
तेस्रो सत्रमा नालन्द विश्वविद्यालय भारतका प्रा. डा. राजेश्वर मुखर्जीले अनुसन्धान पद्धतीः भारतीय ज्ञान प्रणालीको पुनर्मिलन शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणी संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका डा. बालकृष्ण शर्मा र प्रतिवेदन उपप्राध्यापक दुर्गालाल केसीले प्रस्तुत गरेका थिए । त्रिभुवन विश्वविद्यालयका प्रा. डा. कृष्णचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न शत्रको सञ्चालन उपप्राध्यापक रञ्जन सिग्देलले गरेका थिए ।












