घाेराही, १६ फाल्गुन । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीले खाजा खर्च कटाएर मानव कल्याण समाजद्वारा सञ्चालित सेवाघरलाई सहयोग गरेका छन् ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको मानव कल्याण समाजद्वारा सञ्चालित सेवाघरमा बसोवास गर्ने बेसहरा तथा अनाथ नागरिकलाई १७ हजार रुपैयाँ सहयोग गरेका हुन ।

विद्यालयमा विद्यार्थीहरुले विद्यार्थीहरुका लागि नै बनाएका नियम उल्लंघन गर्ने विद्यार्थीलाई गरिएको जरिवाना र विद्यार्थीले दैनिक खाजा खर्च कटाई सञ्चित गरिएकाे १७ हजार रुपैयाँ सेवाघरलाई हस्तान्तरण गरिएकाे थियाे । विद्यालयमा रहेको सिर्जनशिल बाल क्लवकी अध्यक्ष स्मारिका चौधरी, विद्यालयका प्रिन्सिपल महेश बस्नेत, कक्षा ६ देखि १० सम्मका नियमनकर्ता लगायतले मानव सेवाघर नारायणपुरकी संयोजक सुस्मिता श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गर्नुभएकाे थियाे ।

विद्यालयमा अध्ययनसँगै विद्यार्थीलाई सामाजिक सेवाको कार्यक्रममा सहभागी गराउने कार्यक्रमअन्तर्गत विद्यार्थीले सेवाघरलाई सहयोग गरेको विद्यालयका प्रिन्सिपल महेश बस्नेतले बताउनु भयाे । सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीले प्रत्येक बर्ष ज्येष्ठ नागरिक, अनाथालयलगायतका ठाउँमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत यो बर्ष सेवाघरमा सहयोग गरेको भन्दै प्रिन्सिपल बस्नेतले आगामी बर्षहरुमा पनि सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनु भयाे ।
सिर्जनशिल बाल क्लवकी अध्यक्ष स्मारिका चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले विद्यालयमा शिक्षा आर्जन गर्दै गरेका विद्यार्थीले मानव सेवा आश्रमका लागि गरेको सहयोग महत्वपूर्णसँगै अरुका लागि सिकाई भएको बताउनु भयाे । विद्यालयमा अध्ययनरत बालबालिकाले गरेको सानो सहयोगले समाजमा ठुलो अर्थ राख्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष सुवेदीले बालबालिकालाई शैक्षिक ज्ञानसँगै सामाजिक कार्यमा हरेक विद्यालयले जोड्दै अघि बढ्नुपर्ने बताउनु भयाे ।

सहयोग हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रमद्वारा सञ्चालित सेवा घरका बारेमा संयोजक सुस्मिता श्रेष्ठले जानकारी गराउनु भएकाे थियाे । उहाँका अनुसार सेवा घरमा अहिले ५४ जना अनाथ तथा बेसहरा नागरिकहरु बसोवास गर्दै आएको भन्दै उनीहरुमध्ये पाँच महिनाकी बालिकादेखि ९० बर्षसका जेष्ठ नागरिक रहेका छन् ।
ज्ञानमाला एकेडेमीमा गठित जुनियर रेडक्रस सर्कलका अध्यक्ष शिद्धान्त भट्टराईको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमका सहभागीलाई सिर्जनशिल बाल क्लवका उपाध्यक्ष बुद्धिप्रकाश चौधरीले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । कार्यक्रमको सहजीकरण बाल क्लवकी सचिव अदिती केसीले गर्नुभएकाे थियाे ।













