दाङ, भदाै २८ । जेन–जी आन्दोलनका क्रममा जलेर नष्ट भएका तुलसीपुरका विभिन्न संरचनामा शुक्रबारदेखि सरसफाइ कार्य थालिएको छ । राजनीतिक दलहरूले पहल गरी केही स्थानमा सफाइ सुरु गरे पनि सरकारी निकायका कतिपय कार्यालयमा भने यो प्रक्रिया स्थगित गरिएको छ । उपमहानगरपालिकाका कर्मचारीहरूले बिहानैदेखि जलेका संरचना सफा गर्न सुरुवात गरे पनि कानुनी प्रक्रिया (मुचुल्का) पूरा नगरी अघि बढ्न नसक्ने भन्दै काम रोकिएको हो ।

सरकारी कार्यालयहरूमा जलेका सामग्री अझै बाटोघाटो र कार्यालय परिसरमै छरपष्ट अवस्थामा छन् र केही सामान चोरी भएको समेत बताइएको छ । उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ललित घर्तीका अनुसार शुक्रबारदेखि सफाइ सुरू गरिए पनि बीचमै रोक्नुपरेको हो ।

जलेका भवनभित्र महत्वपूर्ण कागजात भेटिन्छन् कि भनेर कर्मचारीहरू निराश मुद्रामा खरानीभित्र खोजतलासमा व्यस्त देखिएका थिए । आगजनीका कारण तुलसीपुरकै एक मात्र दमकलसहित खानेपानी आपूर्ति गर्ने ट्यांकर पूर्णरूपमा जलेर अयोग्य बनेका छन् । बालबालिकालाई दिइने खोपदेखि लिएर प्रशासनिक फाइलसम्म जलेर नष्ट भएका छन् ।

उपमहानगरपालिकाले भाडामा दिने तयारीमा रहेको करिब १४ करोड रुपैयाँ ऋणमा बनेको व्यापारिक भवन सञ्चालनमा नआउँदै क्षतिग्रस्त हुने गरी तोडफोड गरिएको छ । दुईवटा नगरपालिका भवन पूर्ण रूपमा जलेका छन् । करिब चार करोड बढी लागतमा बनेको प्रशासनिक भवन समेत एक वर्ष नपुग्दै ध्वस्त भएको छ ।

दमकल, फोहर संकलन गर्ने गाडी, स्वास्थ्य र नगर प्रमुख तथा प्रशासकीय अधिकृतले प्रयोग गर्ने सवारीसाधन समेत खरानीमा परिणत भएका छन् । सरकारी कार्यालयहरूसँगै नेताहरूका निजी घरहरू समेत जलेका कारण स्थानीयवासी निराश छन् । “अब यस्ता संरचना पुनःनिर्माण गर्न कति समय लाग्ने हो, विकास झन् पछि पर्ने भयो,” जलेका भवन हेर्दै स्थानीयवासीले गुनासो पोखे ।

आन्दोलनमा भएको आगजनीबाट नगर स्वास्थ्य प्रवर्धन शाखाको खोप भण्डारण, फ्रिज, भ्याक्सिन क्यारियर, कुपोषण उपचार औषधि ‘सुपर सेरेल प्लस’, एचएमआइएस फाराम, रजिस्टर, सूचना सामग्री, डेस्कटप, ल्यापटप, प्रिन्टर, फोटोकपी मेशिन, विपन्न सिफारिस र भुक्तानीसम्बन्धी कागजातसहितका महत्वपूर्ण फाइल र तथ्याङ्क जलेर नष्ट भएको जनस्वास्थ्य अधिकृत बिमल केसीले जानकारी दिए ।

खोप, पोषण, क्षयरोग, कुष्ठरोग, औलो, परिवार नियोजन, सुरक्षित मातृत्व, गर्भवती र सुत्केरी स्वास्थ्य जस्ता कार्यक्रमका औषधि र सामग्री अभाव हुन सक्ने भएकाले नजिकका स्वास्थ्य संस्था, पालिका तथा जिल्ला–प्रदेशसँग समन्वय गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । यस्ता चुनौतीबीच पनि स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाइबाट सेवा निरन्तर जारी रहेको उनले उल्लेख गरे ।

उपमहानगरपालिकाले क्षतिको विवरण संकलन गरिरहेको छ भने अन्य कार्यालयहरूको क्षतिको तथ्याङ्क अझै प्राप्त हुन बाँकी छ । जिल्ला प्रशासनको निरीक्षणपछि मात्र अन्य कार्यालयमा सफाइ सुरु गरिने सम्बन्धित निकायहरूले बताएका छन् । आन्दोलनका क्रममा उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत, इलाका प्रशासनलगायतमा तोडफोड र आगजनी हुँदा सेवा प्रवाहमा समेत असर परेको छ ।

यद्यपि, शुक्रबारदेखि दाङमा प्रशासनले निषेधाज्ञा लागू गरे पनि तुलसीपुर बजारमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । बिहानैदेखि बजार क्षेत्रमा चहलपहल देखिन थालेको छ । विभिन्न पसल, होटल र दैनिक उपभोग्य सामानका पसलहरू खुलेका छन् । सार्वजनिक र निजी सवारी आंशिक रूपमा सञ्चालनमा आएका छन् भने पैदल यात्रुको आवागमन बढेको छ । व्यापारीहरूले ग्राहकहरू निसङ्कोच रूपमा किनमेल गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस