घोराही, ५ असोज। “राष्ट्र निर्माणमा सहभागी बनौं” भन्ने नारासहित घोराही मालपोत कार्यालयले सहयोगको आव्हान गरेकाे छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागको भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीले आगजनीबाट कार्यालयको सम्पूर्ण संरचना र सामग्री जलेर नष्ट भएपछि सहयोगको लागि सार्वजनिक आव्हान गरेको बताइएकाे छ ।
कार्यालयले असोज ५ गते जारी गरेको सूचनाअनुसार, गत भदौ २४ गते ‘जेन–जेड’ आन्दोलनका क्रममा कार्यालयको भवन, फर्निचर, विद्युतीय तथा इलेक्ट्रिकल उपकरणसहित सम्पूर्ण सामग्रीमा आगजनी भई पूर्ण रूपमा क्षति पुगेको छ। यस कारण नियमित सेवा प्रवाह अवरुद्ध भएको कार्यालयले जनाएको छ।
कार्यालयले बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, उद्योगी–व्यवसायी, फर्म र कम्पनीहरूलाई आवश्यक सामग्री र उपकरण स्वतःस्फूर्त उपलब्ध गराई सेवा सुचारु गर्न सहयोग पुर्याउन अनुरोध समेत गरेको छ।













