oplus_2

घाेराही, ७ असार । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले प्राथमिक तहका शिक्षकहरुलाई तालिम दिएकाे छ ।

निरन्तर मुल्यांकन प्रणाली (क्यास)का विषयमा प्राथमिक तहका शिक्षक, विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल तथा संयाेजकहरुलाई प्रशिक्षित गरिएकाे थियाे । कक्षा पाँचसम्म पूर्णरुपमा निरन्तर मुल्यांकन प्रणाली सञ्चालन भएपछि प्याब्सन घाेराहीले एकदिने तालिम सञ्चालन गरेकाे हाे ।

प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् निवर्तमान केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा भएकाे तालिमका प्रशिक्षकमा यादव गिरी र शिक्षा, युवा तथा खेलकुद महाशाखा तुलसीपुरका वरिष्ठ शिक्षा अधिकृत मनबहादुर खड्का रहनुभएकाे थियाे । प्रशिक्षक गिरीले प्रभावकारी निरन्तर मुल्यांकन प्रणाली कार्यान्वयन: शिक्षण, मुल्यांकन र विद्यालय नेतृत्वको रुपान्तरणका विषयमा प्रशिक्षण दिनुभएकाे थियाे । यसैगरी, अर्का प्रशिक्षक खड्काले निरन्तर मुल्यांकन प्रणाली: मुल्यांकन विधि र प्रक्रियाका विषयमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षित गर्नुभएको थियाे ।

प्रशिक्षणका क्रममा प्रशिक्षकहरुले निरन्तर मुल्यांकन प्रणालीले विद्यार्थीहरुकाे सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउने भन्दै परम्परागत शिक्षण तथा मुल्यांकन शैलीबाट शिक्षकहरु मुक्त हुनुपर्नेमा जाेड दिए । उनीहरुले विद्यार्थीहरुकाे मुल्यांकनमा अनुहार हेरेर र हचुवा तरिकाले नभइ वास्तविक सूचकहरु तयार गरि मुल्यांकन गर्नुपर्ने बताए ।

प्याब्सन घाेराही नगर कमिटीका उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे तालिमकाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएकाे थियाे ।

तालिममा प्याब्सन घाेराहीमा आबद्ध ५६ विद्यालयका दुई सय ४६ जना शिक्षकहरुकाे सहभागीता रहेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस