दाङ, २८ असार । घोराही उपमहानगरपालिकाले आफ्ना शिक्षा अधिकृत अजय बोहरामाथि मोबिल खन्याएर भौतिक आक्रमण गर्ने वडा सदस्यलाई कडा कानुनी कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङलाई पत्राचार गरेको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले पत्र पठाउँदै ज्यान मार्ने नियतका साथ अभद्र व्यवहार, गालीगलौज र भौतिक आक्रमण गर्ने घोराही-१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम) लाई हदैसम्मको कारबाही गर्न माग गर्नुभएको हो।

शनिबार घोराही-१५ स्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयको व्यवस्थापन समिति निर्वाचन प्रक्रिया चलिरहँदा वडा सदस्य बुढाथोकीले निर्वाचन बिथोल्ने उद्देश्यले त्यहाँ खटिएका शिक्षा अधिकृत बोहराको शरीरमा अत्यन्त प्रज्वलनशील पदार्थ मोबिल खन्याउनुका साथै खाली बोतलले प्रहार गरेको उपमहानगरपालिकाले जनाएको छ।

कार्यक्षेत्रमै राष्ट्रसेवक कर्मचारीमाथि भएको यस निकृष्ट घटनाको विरोधमा उपमहानगरपालिकाका सम्पूर्ण कर्मचारीहरूले समेत संयुक्त विज्ञप्ति जारी गर्दै घोर भर्त्सना गरेका छन्। लोकतान्त्रिक व्यवस्थामा असहमति र फरक विचार स्वाभाविक भए पनि राष्ट्रसेवकमाथि गरिने यस्ता अमर्यादित कार्यले कानुनी शासनको उपहास गर्ने र सार्वजनिक प्रशासनको मनोबल कमजोर बनाउने कर्मचारीहरूको विज्ञप्तिमा उल्लेख छ। कर्मचारीहरूले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीउपर प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न तथा कार्यक्षेत्रमा दबाब, डर र दुर्व्यवहारबिना काम गर्न सक्ने भयमुक्त वातावरण सुनिश्चित गर्न जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस