घोराही, २ भदौ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित रणअम्बिका बीजी मार्केटमा महिलाका लागि लक्षित नयाँ कपडा पसल ‘डिना कलेक्सन’ सञ्चालनमा आएको छ । डिना गिरीले सञ्चालनमा ल्याउनुभएको कलेक्सनको उद्घाटन सोमबार सञ्चालक गिरीका पिता घनश्याम गिरीले गर्नुभएको हो ।
नयाँ कलेक्सनमा महिलाका लागि आवश्यक विभिन्न प्रकारका कपडाहरू उपलब्ध हुने सञ्चालक डिना गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कलेक्सनमा विशेषगरी महिलाहरूका लागि प्लस साइजका विभिन्न डिजाइनका कपडाहरू उपलब्ध गराइनेछ । साथै, विभिन्न प्रकार र डिजाइनका साडीसमेत ग्राहकले एउटै स्थानबाट छनोट गर्न सक्ने व्यवस्था गरिएको छ ।
डिना कलेक्सनमा टीसर्ट, सर्ट, पाइन्ट, साडी लगायतका कपडा उपलब्ध रहेको सञ्चालक गिरीले बताउनुभयो । ग्राहकको आवश्यकता, रुचि र शारीरिक बनोटअनुसार विभिन्न साइज तथा डिजाइनका कपडा उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।
पछिल्लो समय बजारमा महिलाका लागि विभिन्न डिजाइन र साइजका कपडाको माग बढ्दै गएको अवस्थामा विशेषगरी प्लस साइजका कपडा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कलेक्सन सञ्चालन गरिएको गिरीले बताउनुभयो । उहाँले ग्राहकलाई गुणस्तरीय कपडा उचित मूल्यमा उपलब्ध गराउँदै सेवामार्फत आफ्नो व्यवसायलाई विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
कलेक्सनको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, पत्रकार गोविन्द खड्कालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा व्यवसाय सञ्चालनको सफलताको शुभकामना दिँदै स्थानीय बजारमा नयाँ व्यवसाय थपिनुले उपभोक्तालाई छनोटको अवसर बढाउने बताइएको थियो ।
घोराहीको रण अम्बिका बीजी मार्केटको सटर नम्बर ९ मा सञ्चालनमा आएको डिना कलेक्सनले महिलाका लागि आवश्यक पोसाक एकै ठाउँमा उपलब्ध गराउने प्रयास गरेको छ । विशेषगरी बजारमा सहज रूपमा उपलब्ध नहुने ठूला साइजका कपडालाई प्राथमिकता दिइएकाले प्लस साइजका कपडा खोज्ने ग्राहकका लागि कलेक्सन उपयोगी हुने अपेक्षा गरिएको छ ।
सञ्चालक गिरीले आगामी दिनमा ग्राहकको मागअनुसार नयाँ डिजाइन तथा विभिन्न प्रकारका कपडा थप गर्दै लैजाने बताउनुभयो । उहाँले स्थानीय ग्राहकको विश्वास र साथलाई प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।












