घोराही, ५ भदौ । घोराही उपमहानगरपालिका–१५, जिल्ला प्रशासन कार्यालय दाङको अगाडि नमुना बिएस कफी विथ बुक्स उद्घाटन गरिएको छ। कफी, नास्ता तथा पुस्तक अध्ययनको सुविधा एकै स्थानमा उपलब्ध गराउँदै घोराहीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले कफी विथ बुक्स सञ्चालनमा ल्याइएको हो।

पसल सञ्चालक सीता बिष्टको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासन प्रमुख अतिथ्यतामा पसल उद्घाटन गरिएकाे थियाे । अर्का पसल सञ्चालक बिष्णु हमालकाे जन्मदिनकाे अवसरमा शुक्रबार पसल उद्घाटन गरिएकाे थियाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले कफी र नास्तासँगै पुस्तक पढ्ने वातावरण सिर्जना गर्ने गरी सञ्चालनमा आएको नमुना बिएस कफी विथ बुक्सले घोराहीको पठन संस्कृतिको विकासमा योगदान पुर्‍याउने बताउनुभयो। उहाँले मोबाइल र सामाजिक सञ्जालमा समय बिताउने प्रवृत्ति बढिरहेका बेला पुस्तक पढ्ने बानीको विकास गर्न यस्ता ठाउँहरू महत्वपूर्ण हुने धारणा राख्नुभयो।

“कफी खान आउने व्यक्तिले केही समय पुस्तक पढ्ने, ज्ञान हासिल गर्ने र सिर्जनात्मक कुराकानी गर्ने वातावरण बनाउन सकियो भने यसले समाजमा सकारात्मक प्रभाव पार्छ,” उहाँले भन्नुभयो। स्थानीय व्यवसायलाई सामाजिक उद्देश्यसँग जोडेर अघि बढाउनु सकारात्मक पक्ष भएको उहाँको भनाइ थियो।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले विद्यार्थी तथा युवाहरूमा पठन संस्कृतिको विकास गर्न कफी विथ बुक्सजस्ता अवधारणा उपयोगी हुने बताउनुभयो। उहाँले विद्यालय र समुदायबीच सहकार्य गर्दै अध्ययन तथा ज्ञानको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

पसल सञ्चालक विष्णु हमालले ग्राहकलाई गुणस्तरीय कफी तथा नास्ताका परिकारहरु सर्वसुलभरुपमा उपलब्ध गराउनुका साथै पुस्तक पढ्न, छलफल गर्न र सिर्जनात्मक गतिविधि गर्न सकिने वातावरण निर्माण गर्ने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याएको बताउनुभयो। उहाँले व्यवसायसँगै समाजमा ज्ञान र पठन संस्कृतिको विकासमा योगदान पुर्‍याउने आफ्नो चाहना रहेको उल्लेख गर्नुभयो। देशमा केही छैन भन्ने भाष्यलाई निरुत्साहित गरि देशमा सम्भावनाकाे खाेजी गर्नुपर्ने भन्दै हमालले सीप भएका बेराेजगारहरुका लागि सानाे राेजगारी सिर्जना गरेेकाे बताउनुभयाे ।

जिल्ला प्रशासनकाे पूर्वतर्फ मालपाेत कार्यालय जाने राेडमा सञ्चालन भएकाे नमुना बिएस कफी विथ बुक्समा विभिन्न प्रकारका कफी, चिया तथा खाजाहरु सुलभ मुल्यमा उपलब्ध हुने सञ्चालक बिष्णु हमालले जानकारी दिनुभएकाे थियाे । ग्राहकले नास्ता लिदै विभिन्न विधाका पुस्तकहरुकाे पनि अध्ययन गर्न सकिने व्यवस्थासहित पसल सञ्चालन गरेकाे हमालले बताउनुभयाे ।

कार्यक्रममा प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्द, लायन्स क्लब अफ नारायणपुरका अध्यक्ष विनोद केसी, प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण ओली, उपाध्यक्ष मानसिंह घर्ती, सचिव विमल भण्डारी तथा दाङ अध्ययन मञ्चका संयोजक सूर्य बिसीलगायतको सहभागिता थियो।

पसलका सञ्चालक विष्णु हमालकाे स्वागत मन्तव्यबाट सुरुभएकाे उद्घाटन कार्यक्रमकाे सहजीकरण हरि पौडेलले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस