घाेराही, १० भदाै । घोराही उपमहानगरपालिका–१४ गणेश मन्दिर क्षेत्रमा महिलाहरूलाई लक्षित गरी ‘वस्त्र बाई आशा’ नामक रेडिमेड कपडा, ब्याग तथा जुत्ता पसल सञ्चालनमा आएको छ। स्थानीय महिला सुष्मा विकले सञ्चालन गर्नुभएको उक्त पसलको उद्घाटन बुधबार एक कार्यक्रमबीच गरिएको हो।
पसल उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं ‘घोराही बनाउँ अभियान’का संयोजक सविन प्रियासन, लेखक एवं सञ्चालक सुष्मा विकका श्रीमान् भक्तबहादुर विकलगायतले व्यवसायको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले स्थानीयस्तरमा महिलाले आफ्नै व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्न खोज्नु सकारात्मक पक्ष भएको बताउँदै व्यवसायलाई निरन्तरता दिन सके आर्थिक सशक्तीकरणमा समेत योगदान पुग्ने धारणा राख्नुभएको थियो।
कार्यक्रममा सञ्चारकर्मी, अधिकारकर्मी, विभिन्न पेशा तथा व्यवसायमा आबद्ध व्यक्तिहरू, आफन्त तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले स्थानीय क्षेत्रमा आवश्यक वस्तु तथा सेवाको सहज उपलब्धताका लागि नयाँ व्यवसाय सञ्चालन हुनु स्वागतयोग्य भएको बताएका थिए।
सञ्चालक सुष्मा विकले ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राख्दै गुणस्तरीय रेडिमेड कपडा, ब्याग तथा जुत्ता उपलब्ध गराउने बताउनुभयो। उहाँले स्थानीय ग्राहकलाई सहज, भरपर्दो र उचित मूल्यमा सामग्री उपलब्ध गराउने उद्देश्यले व्यवसाय सुरु गरेको जानकारी दिनुभयो।
‘वस्त्र बाई आशा’ले विशेषगरी महिलाका लागि आवश्यक विभिन्न प्रकारका पहिरन तथा सामग्री उपलब्ध गराउने जनाएको छ। स्थानीयस्तरमै व्यवसाय विस्तार गर्दै आत्मनिर्भर बन्ने लक्ष्यसहित सञ्चालनमा आएको पसलले महिला उद्यमशीलतालाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।











