दाङ, १० जेठ । विद्यालयमा मावि दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । इन्सेक दाङको समन्वय तथा मानवअधिकार निगरानी समूह लक्ष्मीपुरको आयोजनामा मावि झिङ्नीमा भएको शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीबीच भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले त्यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले मावि दरबन्दी नभएकाले तल्लो तहका शिक्षकले पठनपान गराउनु पर्ने बाध्यता रहेको गुनासो गर्नु भएको थियो । विद्यालयमा कुनै पनि आर्थिक स्रोत नभएकाले निजी स्रोतका शिक्षकहरुलाई पनि कम पारिश्रमिकमा काममा लगाएर पठनपाठन भैरहेको बताउनुभएको थियो ।कार्यक्रममा सहभागी विद्यार्थीहरुले कक्षा ९ र १० मा कम्प्युटर कक्षा सञ्चालन गर्नुपर्ने, कक्षा कोठामा झ्यालको निर्माण गर्नुपर्ने, छात्रा शौचालय थप गर्नुपर्ने, पुस्तकालयमा १ जना कर्मचारीको व्यवस्था गर्नुपर्ने, कक्षा कोठामा पङ्खाको व्यवस्था गर्नुपर्ने माग राखेका थिए ।

Advertisements

निगरानी समूहका अध्यक्ष खीमा अधिकारीको अध्यक्षता तथा वडा नं. ३ का वडा अध्यक्ष माधव चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक कृष्णप्रसाद अधिकारीले विद्यार्थीहरुको माग जायज भएको भन्दै आर्थिक स्रोतको खोजी गरी उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही वडा नं. ३ का वडा अध्यक्ष माधव चौधरीले विद्यालयको चौतर्फी विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, शिक्षक, विद्यार्थी लगायतले आ–आफ्नो धारण राखेका थिए । कार्यक्रमको सहजीकरण बालअधिकार चेतना समूहका संरक्षक शिक्षक बामदेव अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस