घोराही, १६ असार । अर्जुनखोलामा बगेर गत वर्ष २ जनाले ज्यान गुमाए, यसपालिको वर्षा सुरु भइसकेकाले स्थानीयमा बाढीको जगजगीले छोइसकेको छ । हरेक वर्षायाम चाख्लीघाटबासीका लागि सुखद् रहन नसकेको इतिहास सम्झिदै यतिबेला चाक्लीघाटवासीहरु आफ्नो ठाउँमा सडक पुर्‍याउन कस्सिएका छन् ।घोराही उपमहानगरपालिका वडा नं. २ चाक्लीघाटसम्मको झण्डै पाँच किलोमिटर बाटो निर्माण गर्न स्थानीय कस्सिएका हुन् । लमही नगरपालिका क्षेत्र बेलदमारदेखि चाक्लीघाटसम्म पुर्‍याउन नसके पनि सोरठीसम्म त यसपालि सडक पुर्‍याउने स्थानीयको धोको छ । स्थानीय रत्नबहादुर ओलीले यसपालि जसरी भए पनि सोरठीसम्म गाडी चल्ने सडक बनाउने बताउनुभयो । सडक नहुँदाका पीडा पोख्दै ओलीले भन्नुभयो “अहिलेसम्म झण्डै २५ जनाले अर्जुनखोलामा बगेर ज्यान गुमाएका छन् ।” हरेक वर्षजसो दुईजनालाई खोलाले बगाउने गरेको जानकारी दिँदै ओलीले अब घटना दोहोरिन नदिने बताउनुभयो ।सडक निर्माणका लागि घोराही उपमहानगरपालिकाले २० लाख र वडा नं. २ ले ८ लाख रुपैयाँ उपलव्ध गराएको छ । जसले ट्रयाक चौडा गर्ने र १४ ठाउँमा ३४ वटा हेमपाइप, २ वटा कल्भर्ट निर्माणको काम भइरहेको बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष टोपेन्द्रबहादुर डिसीले जानकारी दिनुभयो । चाक्लीघाटवासीले वर्षायाममा हिँड्ने बाटोमात्रै भए पनि आउँदो हिउँददेखि गाउँमा बस पुुर्‍याउने योजना बनाएका छन् । तर सोरठी र चाख्लीघाट जोड्ने एककिलोमिटर सडकमा चट्टान फोड्नुपर्ने अवस्था भएको हुँदा रकमको अभावले चाक्लीघाटवासीको सपना अधुरै हुने होकि भन्ने चिन्ता स्थानीयको छ ।यद्यपि घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष केशव आचार्यले चाक्लीघाटवासीको बस चढ्ने सपना छिटै पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । सडक निर्माणस्थलमै पुग्नुभएका अध्यक्ष आचार्यले चट्टान फोड्न जिल्ला वनले स्काभेटरको प्रयोग गर्न नदिए पनि जनताको विकासका लागि वर्षान्तपछि बसलाई चाक्लीघाट पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले जनताको विकासका कामलाई अवरोध हुनेगरी जिल्ला वनले हस्तक्षेप गरे पनि चाक्लीघाटसम्म सडक पुर्‍याउन रकमको अभाव हुन नदिने र काम पनि नरोकिने बताउनुभयो ।
Advertisements
Advertisement Here

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस