सैघा, ३० कार्तिक । जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको समन्वयमा घोराहीको पहाडी वडा सैघामा एकीकृत घुम्ती शिविर आयोजना गरिएको छ ।
भगवती मा.वि. होडबाङमा आयोजित शिविरमा नागरिकता वितरण, स्वास्थ्य परीक्षण, पशु स्वास्थ्य जाँच, कृषकहरुलाई परामर्श, निःशुल्क औषधि वितरण, नमस्ते र स्काई सिमकार्ड वितरण लगायतका सेवाहरु प्रवाह गरिएको छ ।  ३६ वर्षीय स्थानीय कमला घर्तीलाई नागरिकता प्रदान गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिविरको उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि चौधरीले जनताहरुलाई घरदैलोमै सेवा प्रवाह गर्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको बताउँदै विविध कारणले सेवा लिनबाट बञ्चित नागरिकलाई सेवा दिनु सरकारको प्रमुख दायित्व भएको बताउनुभयो ।
भौगोलिक हिसाबले उपमहानगरको विकट यस वडालाई सडक सञ्जाल विस्तार गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै नगर प्रमुख चौधरीले भौगोलिक विकटता अबको आर्थिक वर्षभित्रै सुगमतामा परिणत हुने बताउनुभयो ।
पहिलो पटक स्थानीय सरकार आएपछि पिछडिएको सैघा वस्तीमा सडक पुगेको भन्दै अब त्यसलाई व्यावसायिकतासँग जोड्न समेत चौधरीले आग्रह गर्नुभयो । स्थानीय उत्पादनलाई बजारसँग जोडी आयआर्जनमा बृद्धि गर्नुपर्ने उहाँको सुझाब थियो ।विकट वस्तीका नागरिकलाई घरदैलोमै एकीकृत रुपमा सेवा प्रवाहका लागि सैघामा शिविर चलाएको दाङका प्रमुख जिल्ल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । पिछडिएको एवं विकट क्षेत्रका नागरिकलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले शिविर आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसूदन यादवले चालु आर्थिक वर्षमै सैघामा विद्युत पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले त्यसका लागि यसै वर्ष ११ के.भी.ए.को ट्रान्सफर्मर राखिने जनाउनुभयो ।
१९ नम्बरका वडा अध्यक्ष हर्क घर्तीमगर वडाको विकासका लागि अब स्थानीय सरकारसँगै राज्यका अन्य निकायले लगानी गर्नुपर्ने माग राख्नुभयो । खानेपानी, बिजुली, सडक लगायत आधारभूत आवश्यकता प्राप्त गर्न समेत समस्या भएको बताउँदै उहाँले यसतर्फ सम्बद्ध निकायले लगानी गर्नुपर्ने बताउनुभयो ।
शिविरमा ३ घण्टा पैदल हिँडेर समेत नागरिक सेवा लिन आएका थिए । घरदैलोमै सेवा पाउँदा खुसी व्यक्त गर्दै स्थानीयले वडाको विकासमा ध्यान दिन स्थानीय सरकारलाई आग्रह गरेका थिए । शिविरमा बालकदेखि बृद्धसम्मले सेवा लिइरहेका छन् । सरकारी सेवालाई वडाबाटै प्राप्त गर्ने गरी सहज तथा प्रभावकारी बनाउन र आवश्यक कर्मचारी परिचालन गर्न उनीहरुले माग गरेका थिए । विकट बस्ती भएको भन्दै दक्ष जनशक्ति आफ्नो वडामा आउन नमान्ने भएको हुँदा आवश्यक सेवा सुविधा एवं स्रोतसाधनको व्यवस्थापन गर्न पनि उनीहरुले माग गरेका थिए ।शिविरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही उपमहानगरको स्वास्थ्य शाखा, वडा नं. १९ को स्वास्थ्य चौकीले स्वास्थ्य परीक्षण एवं परामर्श प्रदान गरेका छन् ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सुरु भएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अमरराज शर्माले गर्नुभएको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Advertisements
Advertisement Here

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस