घोराही, २८ फागुन । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले कुनै पनि सीपलाई आयआर्जनसँग जोड्नुपर्ने बताउनुभएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालित कटाइ सिलाइ तालिमको समापन कार्यक्रममा बोल्दै मेयर चौधरीले सिपलाई आयआर्जनसँग जोड्नु पर्ने बताउनुभएको हो ।
आधारभूत तालिम लिएका अपाङ्गता भएका व्यक्तिहरुका लागि स्तर बृद्धि कटाइ सिलाइ तालिम साढे दुई महिना सञ्चालन भएको थियो । सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै मेयर चौधरीले सीपलाई व्यवहारमा लागु गरेर अघि बढ्न सुझाव समेत दिनुभयो ।
आयआर्जन र आर्थिक सम्पन्नताका लागि कुनै पनि सीपलाई जातसँग जोड्न नहुने मेयर चौधरीको भनाइ छ । हरेक व्यक्ति विभिन्न पेशा व्यवसायमा आबद्ध हुनैपर्नेमा जोड दिँदै मेयर चौधरीले तालिमलाई दक्षतामा रुपान्तरण गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा खगेन्द्र नवजीवन केन्द्रका अध्यक्ष श्रीमन न्यौपाने, राप्तीपोष्ट दैनिकका सम्पादक शरद अधिकारी, मेडेपका क्षेत्रीय संयोजक भीमबहादुर विष्ट, प्रशिक्षक वीरबहादुर रेउले र सहभागी वविता चौधरीले आफ्नो धारणा राख्नुभएको थियो ।
तालिममा १० जना अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा वीरबहादुर रेउले रहनुभएको थियो भने सहजीकरण घरेलु कार्यालयका उमबहादुर वलीले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस