घोराही, ३ मंसिर । घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्याँस उत्पादनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ । एक वर्षभित्रै ग्याँस उत्पादन गर्नेगरी घोराही उपमहानगरपालिकाले नेपाल ऊर्जा विकास कम्पनी प्रालीलाई २० वर्षसम्म जिम्मा दिएको हो ।

दुई वर्ष लामो गृहकार्यपछि घोराही उपमहानगरपालिका, बैकल्पीक उर्जा प्रवर्द्धन केन्द्र ललितपुर र नेपाल ऊर्जा विकास कम्पनी प्राली काठमाडौँबीच आज त्रिपक्षीय सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ । नगरका तर्फबाट प्रमुख नरुलाल चौधरी, ग्याँस उत्पादन गर्ने निजी कम्पनीका तर्फबाट नेपाल ऊर्जा विकास कम्पनी प्रालीका निर्देशक श्रीराम अधिकारी र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यक्रम व्यवस्थापक प्रकाश आर्यालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता पत्रमा साक्षीका रुपमा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनार र सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले हस्ताक्षर गर्नुभएको छ । निजी कम्पनीका तर्फबाट नेपाल ऊर्जा विकास कम्पनी प्रालीका प्रबन्धक फूलराज चौधरी र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका व्यवसाय विकास अधिकृत दीपक पौडेलले साक्षीका रुपमा हस्ताक्षर गर्नुभएको छ ।

२० करोड रुपैयाँको लागतमा उक्त ग्याँस उद्योग स्थापना हुनेछ । सो बजेटमा ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकको रहेको छ । घोराही उपमहानगरपालिका १६ करौँटी डाँडामा रहेको ल्याण्डफिल साइटमै ग्याँस उद्योग स्थापना हुनेछ । अब लगत्तै निर्माणको प्रक्रिया थाल्ने र १४ महिनामापछि ग्याँस उत्पादन गर्ने कम्पनीले जनाएको छ ।कम्पनीले घोराही उपमहानगरपालिका क्षेत्रबाट उत्पादन भएका कुहिने फोहोरहरुबाट दैनिक १ हजार ३ सय किलो ग्याँस निकाल्ने र ६ टन प्राङ्गारिक मल उत्पादन गर्ने जनाएको छ । उत्पादन थालेको ५ वर्षसम्म घोराही उपमहानगरपालिकाले फोहर सङ्कलन, ढुवानी गरिदिने र २० वर्षपछि सो कम्पनीले चालु अवस्थामा घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ ।

त्यसैगरी उत्पादन पश्चात कुल उत्पादनको १ प्रतिशत रोयल्टी रकम उपमहानगरलाई बुझाउनु पर्नेछ भने ५ वर्षपछि आवस्यक छलफलका आधारमा निर्धारण गर्ने सम्झौता भएको छ । तत्कालिन घोराही नगरपालिकाले करिव ३ वर्ष पहिलेदेखि फोहरबाट ग्याँस तथा मल उत्पादन गर्ने गरी निजी कम्पनीसँगको समन्वयमा प्रक्रिया थालेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस