घोराही, ९ मंसिर । रोटरी क्लव अफ दाङले तुलसीपुर उपमहानगरपालिका १७ वनकट्टीमा रहेको शहीद स्मृति आवासीय माध्यामिक विद्यालयमा १२ वटा छात्रामैत्री बाथरुम निर्माण गरिदिएको छ । रोटरी क्लब अफ दाङले विभिन्न संस्था र व्यक्तिहरुबाट सहयोग जुटाएर करिब ११ लाख रुपैयाँको लागतमा १२ कोठे छात्रामैत्री बाथरुम निर्माण गरिदिएको हो ।

जेनिक रेड, एन्थोनी हर्नसक्यास्टलको मुख्य सहयोग, रोटरी क्लब धनगढी, रोटरी क्लब न्यूरोड पोखरा, रोटरियन महेश बिष्ट, प्रकाश भट्ट, पुष्पकमल पौडेलको विषेश सहयोग र बाबा फाउण्डेशन, तेजनाथ न्यौपाने, मस्कुर अहमद, सुरेश हमाल, विमल केसी, तीर्थ सन्तोषी र लालबिक्रिम बुढाको सहयोगमा उक्त बाथरुम निर्माण गरिएको रोटरी क्लब अफ दाङका अध्यक्ष डा. निरन्जन आचार्यले जानकारी दिनुभयो ।

रोटरी क्लवले बाथरुम शनिवार विद्यालयलाई हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ दाङका अध्यक्ष डा. निरञ्जन आचार्यको अध्यक्षता एवं एजी प्रकाश भट्टको प्रमुख आतिथ्यता तथा रोटरी क्लब अफ सेन्टर बुटवलका चार्टर प्रेसिडेन्ट यजाज आलमको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरी विद्यालयलाई बाथरुम हस्तान्तरणको घोषणा गरिएको हो ।कार्यक्रममा बोल्दै रोटरीका अध्यक्ष डा. आचार्यले विद्यालयको आवस्यकतामा आधारित बाथरुम निर्माण गरिएको जानकारी दिनुभयो । नुहाउनका लागि निकै समस्या देखिएपछि विभिन्न क्षेत्रसँग सहयोग संकलन गरेर बाथरुम बनाएको उहाँले बताउनुभयो । कार्यक्रममा विद्यालयमा प्रधानाध्यापक नारायण पौडेलले अति आवस्यक रहेको बाथरुम निर्माण गरेर सहयोग गरेको भन्दै धन्यावाद ज्ञापन गर्नुभयो । छात्रा गीता बुढाले पर्याप्त बाथरुमहरु नहुँदा छात्राहरुलाई नुहाउन निकै समस्या हुने गरेको बताउनुभयो । बाथरुम नहुँदा पढाई र स्वास्थ्यमा समेत समस्या आउने गरेको भन्दै अब पर्याप्त बाथरुम भएपछि समस्या समाधान हुने बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डे, पाष्ट एजी कुशल तर्ताल, धनगढी रोटरीका निवर्तमान अध्यक्ष महेश बिष्ट, बाथरुम निर्माण समितिका कोषाध्यक्ष प्रदीप मजगैयाँ, विद्यार्थी ज्ञानेन्द्र सिंह, कार्यक्रम संयोजक प्रदीप सुवेदी लगायतले रोटरीले गर्ने सामाजिक कार्यले सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण रोटरीका महासचिव रजिवउल्लाह खानले गर्नुभएको थियो । बाथरुम निर्माणमा सघाउने संस्था र व्यक्तिहरुलाई करदपत्र समेत रोटरीले प्रदान गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस